सहमतीय संविधान निश्चित भए एमाओवादी सरकारमा जाने

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते २:४५ मा प्रकाशित

maoist-flagकाठमाण्डु, १६ मंसिर– प्रधानमन्त्री सुशील कोइराला माघ ८ गते संविधान जारी गर्ने सर्तमा एमाओवादीसहितका दलहरूलाई सामेल गराएर वर्तमान सरकारलाई राष्ट्रिय स्वरूप दिन तयार भएका छन् ।

कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरूबीच प्रधानमन्त्री कोइरालाले माघ ८ गतेभित्र संविधान घोषणा हुन्छ भने वर्तमान सरकारलाई राष्ट्रिय सरकारको स्वरूप दिन तयार रहेको प्रस्ताव राखेको कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

माघ ८ गते संविधान जारी गर्नुपर्छ, त्यसका लागि वर्तमान सरकारलाई राष्ट्रिय सरकारको स्वरूप दिन म तयार छु’, कोइरालालाई उद्धृत गर्दै खड्काले भने । उनका अनुसार यसबारे प्रमुख तीन दलका साथै मधेसवादी र अन्य केही दलसँग पनि कुराकानी भइरहेको छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले माघ ८ गतेभित्र संविधान निर्माण गर्न आमसहमति आवश्यक भएकाले आफ्नो पार्टी राष्ट्रिय सरकार गठनका पक्षमा रहेको बताए । उनले भने, ‘राष्ट्रिय सरकार गठनको उद्देश्य संविधान निर्माण हो ।’

एमालेले केही दिनयता संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग राष्ट्रिय सरकार गठनको प्रस्ताव गर्दै सहमति जुटाउने प्रयास गरिरहेको खनालले बताए।

एमाओवादी सचिव वर्षमान पुनले शान्तिप्रक्रिया टुंगोमा पुर्यानउने र संविधान निर्माण गर्ने सर्तमा सहमतिसहितको राष्ट्रिय सरकार आफ्नो पार्टीको बटमलाइन रहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us