
चितवन, १४ मंसिर– नेकपा–माओवादीबाट अलग्गिएका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरु नयाँ क्रान्तिमा होमिएको उद्घोष गरेका छन् ।
आज बिहान चितवनको भरतपुरमा अगुवा कार्यकर्ता भेटघाटका क्रममा उनले नयाँ क्रान्तिमा सहभागी हुन अन्य पार्टीका कार्यकर्तालाई समेत आग्रह गरे
तर कस्तो क्रान्ति भन्नेबारे भने उनले केही खुलाएनन् । नयाँ चरणको सङ्घर्ष सुरु भएको जनाउ दिँदै विप्लवले जुनसुकै आन्दोलन गर्नुपरे पनि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।
उनले क्रान्तिको नाममा अवसरवादीहरु हावी भएको र नेपाली जनताले परिवर्तनको कुनै अनुभूति गर्न नपाएकाले आफूले विद्रोहमा उत्रनुपरेको बताए ।
उनले छिट्टै पार्टीको नयाँ नाम घोषणा गर्ने चितवनको भेलामा सहभागी एक जिल्ला नेताले जानकारी दिएका छन् ।
विप्लवले समय मिलेमा भोलि १५ गते नै राजधानीमा पत्रकार सम्मेलन गरी आफ्ना भावी कार्यक्रमबारे जानकारी दिने चितवनको भेलामा जानकारी गराइएको थियो ।
शनिबार चितवनमा गोप्य भेला गरी विप्लवले नयाँ पार्टीको नामसहित आगामी कार्ययोजना तय गरेको समाचार यहाँका सञ्चारमाध्यमले प्रकाशन/प्रसारण गरेका छन् ।
यस्तै नयाँ सम्मेलन आयोजक समिति तय गरी त्यसको संयोजकमा विप्लवलाई राखिएको पार्टी स्रोतले जनाएको छ ।