लमजुङमा १८१ मा एचआइभी देखियो

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ७:०७ मा प्रकाशित

लमजुङ, १४ मंसिर– लमजुङ जिल्लामा एचआइभी एड्सबाट संक्रमित हुनेहरुको सङ्ख्या १८१ पुगेको छ । जिल्ला एड्स समन्वय समितिलगायत विभिन्न संघ संस्थाहरुले एचआइभी एड्सको न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहे पनि लमजुङमा संक्रमितको सङ्ख्या बर्सेनि बढ्दो छ ।

HIV Aids
समन्वय समितिका अनुसार एचआइभी सङ्क्रमितमध्ये २२ जना बालबालिका रहेका छन् ।
७७ महिला र १०४ जना पुरुष सङ्क्रमित रहेको र तीमध्ये सबैभन्दा बढी २५ देखि ४९ वर्ष उमेर समूहका १२७ जना छन् । १५ देखि २४ वर्ष उमेर समूहका १८ जना  र ५० वर्र्षभन्दा माथिका १४ जना संक्रमित रहेका छन् । तीमध्ये ६४ जनाले एआरटी औषधि सेवन गरिरहेका छन् ।

लमजुङको एक नगरपालिका र ३७ वटा गाउँ विकास समितिमा एचआइभी संक्रमित रहेको समितिले जनाएको छ । सबैभन्दा बढी चक्रतीर्थ गाविसमा १७ जना, सदरमुकामसमेत रहेको बँेसीसहर नगरपालिकामा १४ जना संक्रमित रहेको समन्वय समितिले जनाएको छ । लमजुङमा एचआइभी एड्सको संक्रमण भई १० जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

लमजुङमा एचआइभी संक्रमितको सङ्ख्या बढ्दै गए पनि उनीहरु समाजमा खुलेर आउन सकेका छैनन् । १८१ संक्रमितमध्ये अहिलेसम्म दुईजना मात्र आफू संक्रमित रहेको भन्दै समाजमा खुलेका छन् । सामाजिक कारणले कतिपय संक्रमितहरु संक्रमण लुकाएर बस्न बाध्य छन् । एचआइभी संक्रमितहरु अनैतिक कार्य गरेका व्यक्ति हुन् भन्ने भ्रम समाजबाट हटाउन सकेमा उनीहरुलाई सार्वजनिक हुन सजिलो हुने सरोकारवाला बताउँछन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us