
काठमाण्डु, १२ मंसिर– चिनियाँ राष्ट्रपति सी जिन पिङ र पत्नी पेङ लियुयानको प्रेम सम्बन्धमा आधारित गीतले चीनमा तहल्का पिटेको छ ।
‘पापा सी लभ्स ममी पेंगु’ बोलको उक्त गीत इन्टरनेटमा भाइरल बनेको छ । बिबिसीका अनुसार गीत बाहिर आएको भएको एक सातामा झण्डै ६ करोडले हेरेका छन् । बेजिइङमा हालै सम्पन्न एपेक सम्मेलनमा उक्त जोडीलाई सँगै देखेपछि हेनान प्रान्तका चार जना मिलेर गीतको भिडियो तयार पारेका हुन् ।
गीतमा संसारका प्रेमी–प्रमिकाले सी र पेङबाट सिक्नु पर्ने भाव समावेश गरिएको छ । पेङ प्रसिद्ध लोक गायिका समेत हुन् ।
‘यो सामान्य प्रेम गीत हो । यो जोडीको सुमधुर सम्बन्ध मात्र हामीले देखाउन चाहेका हौं’ ब्याण्डका सदस्य यु रुञ्जेले भने ।
आफूहरुले हालसम्म पाँचवटा एल्बम निकालेको भन्दै उनले यत्तिकै चर्चा कहिल्यै नपाएको सुनाए ।