बाँदरको बिहेमा मानिस जन्ती

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– बिहारको बेतिया सहरमा एउटा अनौठो घटना घटेको छ ।

सहरवासी उदेश महतोले आफ्नो पाल्तु बाँदर रामु र बाँदर्नी monkey biheरामदुलारीको धुमधामका साथ बिहे गराएका छन् ।

बिहेमा उदेशले इष्टमित्र, छरछिमेकलाई आमन्त्रण गरेका थिए । बिहेको जन्ती उदेशको घरबाट राति निस्किएको थियो ।

पेसाले भरिया उदेशले रामुलाई नेपालमा करिब सात वर्षअघि फेला पारेका थिए । एक वर्षअघि उनले रामदुलारीलाई खरिद गरेका थिए ।
‘एकैठाउँ भेला भएपछि सुरुमा उनीहरू एक–अर्कासँग झगडिने गर्थे । तर, बिस्तारै उनीहरूबीच गजबको मित्रता बन्यो । यो मित्रतालाई मैले सम्बन्धमा बदलिदिन चाहेँ र दुईको बिहे गराइदिएँ,’ उनले भने ।

सन्तानको बिहे गराएझैँ गरी उनले बाँदरजोडीको बिहे गराए । बिहेको कार्ड छपाउने, ब्यान्ड बाजा बोलाउने र भोजभतेर गराउने काम उनले गरे । बिहेको सबै रीत पुर्‍याउन उनले पण्डितसमेत बोलाएका थिए ।

पण्डित सुनील शास्त्रीले बाँदरजोडीको बिहे गराएका हुन् । यसअघि उनले जनावरको बिहे गराएका थिएनन् ।

‘जब सुरुमा उदेशले मसँग रीतिपूर्वक बिहे गराइदिन आग्रह गर्‍यो, मलाई अनौठो लाग्यो । पछि, उदेशको भावनालाई विचार गर्दै मैले बाँदरबाँदर्नीको नाम जुधाएर लगन निकालेँ र सबै रीति पुर्‍याएर बिहे गराएँ,’ उनले भने ।

बिहेको लगन सोमबार दिउँसो ११ बजेको थियो । रामदुलारीले गुलाबी रंगको फ्रक पहिरिएकी थिइन् भन रामुले पहेँलो रंगको टिसर्ट पहिरिएको थियो । बाँदर्नीको कन्यादान उदेशले गरेका थिए भने बाँदरको पिताको भूमिका पनि उनैले निर्वाह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us