विदेशमा मृत्यु भएका नेपालीका परिवारले पाउने क्षतिपूर्ति रकम आफैं लिन्छन् राजदूत

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १५:३८ मा प्रकाशित

hamid ansariकाठमाण्डु, ४ मंसिर– वैदेशिक राजगारीका क्रममा निधन भएका नेपाली श्रमिकका परिवारले पाउने क्षतिपूर्ति ती मुलुकस्थित नेपाली राजदूतले नै खाने गरेको खुलासा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउदी अरबका लागि पूर्वनेपाली राजदूत हमिद अन्सारीविरुद्ध मृतक परिवारका लागि आएको रकम आफैं लिएको अभियोगमा मुद्धा दायर गरेपछि उक्त खुलासा भएको हो ।

अन्सारीले मृतक परिवारका नाममा आएको रकम निकालेर आफ्नै बैंक खातामा जम्मा गरेको पुष्टि भएको छ । अख्तियारका अनुसार अन्सारीले मृतक परिवारले पाउनुपर्ने ३ लाख ९६ हजार रुपैयाँ आफैं लिएका थिए ।

उनले साउदीमा मृत्यु भएका बागलुङका होमबहादुर पुनले भाइको मृत्युपछि रोजगारादाता कम्पनीले उपलब्ध गराएको २० हजार रियाद अन्सारीले खाएको भन्दै अख्तियारमा उजुरी दिएका थिए ।

अन्सारी २०६४ माघदेखि २०६७ माघसम्म तीन वर्ष साउदीका लागि नेपाली राजदूत थिए । अन्सारी एमाले कोटामा राजदूत भएका थिए ।

यसैबीच अन्सारीले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले मृतकका नाममा आएको चेक दूतावासका लेखापालले साटेको र आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us