एजेन्सी– हिन्दी सिनेमा उद्योगमा तीन खानको आपसी सम्बन्ध सधैं चर्चाको विषय बन्ने गरेको छ । सलमान खान र शाहरुख खानको प्रतिस्पर्धी छवि र वैरभाव जब फेरि दोस्तीमा बदलियो, त्यसले आमिर खानलाई रातभरि अनिंदो बनाएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सलमान खानकी बहिनी अर्पिता खानको बिहेमा सलमानले आफ्ना प्रतिस्पर्धी अभिनेता शाहरुख खानलाई निम्ता गरेका थिए । यो खबर सुनेर उनीहरु दुवैका फ्यानहरुबीच खुशीको सञ्चार भयो भने दुई खानको सम्बन्ध नरुचाउनेहरु दुःखी पनि भए ।
दुई खानले आफूहरु फेरि सँगै भएको खबर मध्यरातमा फोन गरेर आमिरलाई सुनाएका थिए । मध्यराति आएको दुई सेलिब्रिटी खानको फोनले आमिरलाई रातभरि सुत्न दिएनछ ।
आमिरले सञ्चारमाध्यमलाई भनेका छन्, ‘उनीहरु मिलेको मैले दिल्लीमा थाहा पाएँ, त्यतिबेला रातको डेढ बजेको थियो । उनीहरुले त्यसपछि मलाई सुत्नै दिएनन् ।’
आमिरका अनुसार उनीहरुले राति आधा घण्टाभन्दा बढी समय फोनमा कुरा गरिरहे । त्यसपछि फेरि भिडियो कल गरेर कुरा गरे । यो कुरा बिहान उज्यालो नहुन्जेल चलिरह्यो ।