चितवन, १ मंसिर – उद्योग मन्त्री महेश बस्नेतले एकीकृत माओवादीले संविधान निर्माणमा अवरोध पुर्याए अब हुने निर्वाचनमा सो दल शून्य सिटमा झर्ने बताएका छन् ।
युवा सङ्घ चितवनले आइतबार भरतपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले बन्दुकको धम्की दिएर संविधान निर्माणमा अवरोध नगर्न एमाओवादीलाई आग्रह गरे ।
जनताको चाहना संविधान भएको भन्दै उनले माघ ८ गते संविधान जारी हुने बताए । ‘अब जनता युद्ध होइन संविधान चाहन्छन्’ मन्त्री बस्नेतले भने ‘जो संविधान चाहन्छ त्यसकै पक्षमा जनता हुन्छन् । ’
उद्योग मन्त्रालयललाई २० अर्ब बजेट चाहिने भए पनि तीन अर्ब मात्र दिइएको बताउदै उनले अर्थ र राजस्व मन्त्रालय छुट्टाछट्टै बनाउनुपर्ने धारणा राखे ।
देशमा औद्योगिक क्षेत्रको विकास र बेरोजगारी समस्या समाधानका लागि सरकारले एक जिल्ला एक औद्योगिक क्षेत्रको अवधारणा अगाडि सारेको भन्दै उनले देशको विकासका लागि दक्ष युवा जनशक्तिको आवश्यकता औँल्याए । रासस