२२ दलले पनि कुटनीतिज्ञ ‘गुहार्ने’

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ७:३६ मा प्रकाशित

काठमाण्डु, १ मंसिर – सत्तारुढ दलहरुले विदेशी राजदुतहरु भेटेर आफूहरुको प्रस्तावबारे जानकारी गराएको केही दिन नबित्दै प्रतिपक्षी दलहरुले पनि आफ्ना एजेन्डाबारे ‘ब्रिफिङ’ गर्न कुटनीतिज्ञलाई आग्रह गर्ने भएका छन् ।

केही दिनअघि नेपाली कांग्रेस र नेकपा एमालेले माओवादी संविधान निर्माणमा इमानदार नभएको भन्दै राजदुतहरुलाई आफूहरुको सात प्रदेशवाला संघीय संरचनासम्बन्धी प्रस्तावमा ‘कन्भिन्स’ गर्ने प्रयास गरेका थिए ।

सोमबार सिंहदरबारमा बसेको २२ एकीकृत माओवादी लगायतका २२ दलको बैठकले आफूहरुले पनि राजदूतहरुलाई ‘कन्भिन्स’ गर्ने निर्णय गरेको बताइएको छ ।

कांग्रेस एमालेले शान्ति सम्झौता तोडेको जानकारी विदेशी राजदूतहरुलाई गराउन खोजिएको प्रतिपक्षी दलहरुले जनाएका छन् ।

२२ दलले सार्क सम्मेलन अगाडि नै राजदूतहरु भेट्ने निर्णय गरेका छन् । भेटघाटको मिति भने सार्वजनिक गरिएको छैन । यसैबीच संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईविरुद्ध हस्ताक्षर अभियान थाल्दै गरेका बेला प्रतिपक्षी २२ दलले त्यसको ‘प्रतिकार’ समेत गर्ने निर्णय गरेका छन् ।

प्रतिपक्षी २२ दलको बैठकले कांग्रेस एमालेले निम्त्याउन खोजेको ‘भिडन्त’को प्रतिवाद गर्ने निर्णय गरेकाे हाे ।

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रक्रियामा जानका लागि पनि सहमति आवश्यक पर्ने भएकाले सहमतिको लागि अझै पनि प्रयास गर्ने बताए । तमलोपा नेता हृदयेश त्रिपाठीले कांग्रेस एमालेको विचारलाई संवाद समितिमा पेश गर्न नमिल्ने दाबी गरे ।

बैठकमा संविधान सभामा नरहेका दलका प्रतिनिधि पनि उपस्थित थिए । त्यस्तै यसअघि २२ दलीय मोर्चामा सहभागी नरहेका सभासद् प्रेमबहादुर सिंह, यशोदा लामा, रुक्मिणी चौधरी र यशोदा लामासहित अन्य केही सभासद पनि उपस्थित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us