नेपालीलाई मोदीसँग हात मिलाउन प्रतिबन्ध

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ४:१६ मा प्रकाशित

modiकाठमाण्डु, १ मंसिर– सार्क शिखर सम्मेलनका बेला नेपालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाउन नपाउने भएका छन् ।
सुरक्षालाई दृष्टिगत गर्दै सरकारले आगामी मंसिर १० र ११ गते हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका बेला मोदीलाई सर्वसाधारणसँग हात मिलाउन नदिने भएको हो ।
गत  साउनमा नेपाल भ्रमणमा आएका मोदीले सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर संसदलाई सम्बोधन गर्न संविधानसभा भवन जाने क्रममा कारगेटबाट झरेर बानेश्वर चोकमा नेपालीसँग हात मिलाउनुका साथै तस्वीरसमेत खिचाएका थिए ।

आफू पपुलर बन्न यसपटक पनि मोदीले त्यसै गर्न सक्ने आशंकामा पूर्वसतर्कता अपनाइएको हो ।
गृह मन्त्रालयमा शान्तिसुरक्षा महाशाखा प्रमुख लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा गत ४ भदौमा बसेको विशिष्ट ब्यक्तिको सुरक्षा खतरा मूल्याङकन कार्यदलको बैठकले उच्च सुरक्षा जोखिम हुन सक्ने भन्दै सार्क सम्मेलनका क्रममा मोदीलाई हात मिलाउन नदिने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us