धारामा पानी र घरमा बिजुली आउँदा खुसीयाली

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ३:२८ मा प्रकाशित

म्याग्दी, १ मंसिर– म्याग्दीको बराङजा–८ बुकेनीमा पहिलोपटक एकै दिन धाराबाट पानीे र घरमा बिजुली बलेपछि बुकेनीवासी दङ्ग परेका छन् ।

शुक्रबार गाउँमा सञ्चालित खानेपानी आयोजना सम्पन्न भई औपचारिक रुपमा उद्घाटन गरिएपछि धाराबाट पानी खसेको हो भने  सोही दिन गाउँमा विद्युतीकरण सम्पन्न भई पहिलोपटक बिजुली बलेको हो ।

‘वर्षांैदेखि टुकीको भरमा काकाकुलको नियति भोगेको थियो, एकै चोटि खानेपानी र बिजुली सँगसँगै पायौँ मख्ख छौँ’, स्थानीय नरमाया रोकाले भनिन् ।  जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दी र श्रमदान गरी करिब रु ३४ लाखको लागतमा १६ वटा धारा निर्माण गरी खानेपानी सञ्चालन गरिएको हो ।

उक्त योजनाबाट ४० घरधुरी र एक विद्यालय लाभान्वित भएको योजनाका अध्यक्ष ओमप्रसाद रोकाले जानकारी दिनुभयो । योजनाको शुक्रबार एक कार्यक्रमबीच देवबहादुर घलेले उद्घाटन गरे ।

यसैगरी जिल्ला विकास समिति म्याग्दी, नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्र, बरङ्जा गाविस र स्थानीय श्रमदान गरी करिब नौ लाख ७३ हजारको लागतमा गाउँमा विद्युतीकरण सम्पन्न भएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us