काठमाण्डु, ३० कात्तिक– नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा रही संविधानसभाको निर्वाचन समेत बहिष्कार गरेका दलहरुको समेत संलग्नतामा राजसंस्थावादी बृहत्त राजनीतिक मोर्चा गठन भएको छ ।
मार्चामा लोक कल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष किशोरी महत्तो संयोजक, बहुजातीय समावेशी पार्टीका अध्यक्ष शंकर थापा सह–संयोजक, युनाईटेड नेपाल रिपब्लिकन पिपल्स पार्टीका अध्यक्ष धीरेन्द्र झा महासचिव, हाम्रो नेपाल पार्टीका प्रवक्ता कुमारप्रसाद हुमागाई प्रवक्ता, नेपाल समता पार्टीका महासविच विक्रम कुवँर सदस्य, नेपाल राष्ट्रिय लोकतान्त्रिक दलका अध्यक्ष अमर केसी सदस्य, राष्ट्रि मधेश एकता पार्टी नेपालका कार्यबाहक अध्यक्ष बाबुलाल कार्की सदस्य, शुगंधद सैद्धान्तिक पार्टीका अध्यक्ष रत्नबहादुर श्रेष्ठ सदस्य, नेपाल जनसंघ पार्टीका अध्यक्ष पदमबहादुर सापकोटा सदस्य, नेपाल राष्ट्रवादी पार्टीका अध्यक्ष दोर्जे लामा सदस्य, डेमोक्रेटिक रिपब्लिकन पार्टीका अध्यक्ष रामबृक्ष बर्मा सदस्य, समाजवादी पार्टी गान्धीवादीका अध्यक्ष सुधाकर मधेशी सदस्य, नेपाल राष्ट्र जनकल्याण पार्टी नेपालका अध्यक्ष खुशीलाल यादव सदस्य र राष्ट्रवादी एकता पार्टीकी अध्यक्ष उमा श्रेष्ठ हिमा सदस्य रहेका छन् ।
जसमध्ये बहुजातीय समावेशी पार्टी, यूनाईटेड नेपाल रिपिब्लकन पिपल्स पार्टी, हाम्रो नेपाल पार्टी, नेपाल राष्ट्रिय लोकतान्त्रिक दल, नेपाल समता पार्टी, शुगंधद सैद्धान्तिक पार्टी र नेपाल राष्ट्रवादी पार्टी नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा समेत आवद्ध छन् ।
आईतबार रिपोर्टर्स क्लबका पत्रकार सम्मेलन गर्दै मोर्चाले राष्ट्र र राष्ट्रियताको रक्षाको लागि राजसंस्थाको आवश्यकत्ता अपरिहार्य रहेको भन्दै राजसंस्थाबिनाको संविधान आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका संयोजक किशोरी महत्तोले राजतन्त्रवादीलाई उपेक्षा गरेर ल्याईएको संविधान कुनै हालतमा नमान्ने स्पष्ट पारे ।
उनले भने–‘अहिले पनि बहुमत जनता राजाको पक्षमा रहेको वेला, अल्पमतमा रहेका गणतन्त्रवादीहरु कसरी संविधान जारी गर्न सक्छन् ।’ महत्तोले अहिले राजतन्त्र पूर्नवहाली गर्ने या गणतन्त्रलाई संस्थागत गर्नेवारे द्धन्द्ध रहेको समेत उल्लेख गरेका छन् ।
त्यस्तै सह–संयोजक शंकर थापाले वर्तमान संविधासभाले राष्ट्रलाई निकास दिन नसक्ने ठोकुवा गर्दै गणतन्त्र पूर्ण रुपमा असफल प्रायः भएको भन्दै यथाशिघ्र राजतन्त्र सहितको सनातन हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने माग गरेका छन् । थापाले भने–‘‘नेपालमा गणतन्त्र असफल भईसकेको छ, अब ढिलो नगरी राजतन्त्रसहितको हिन्दू राज्यको घोषणा गुर्नको विकल्प छैन।’’
मोर्चाका सदस्य बाबुलाल कार्कीले राजतन्त्रको पूर्नवहाली र सनातन हिन्दू राष्ट्र कायम गर्नुको विकल्प नभएको स्पष्ट पारे । कार्कीले ८१ प्रतिशत हिन्दू भएको राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरेर आफूहरुलाई अपमान गरेको बताए । उनले भने–‘संघियताको नाममा देशलाई विखण्डन गर्न खोज्नेहरुलाई अब आन्दोलनले परास्त गर्नेछ, राष्ट्रिय अखण्डता जोगाउन पनि शसक्त आन्दोलन गर्नुपर्छ । ’’
मोर्चाले सभामुख, प्रधानमन्त्री लगायतलाई भेटेर राजसंस्था र हिन्दूराज्य पूर्नस्थापना गर्न ज्ञापन पत्र बुझाउने समेत जानकारी दिएको छ ।