सहमति ‘बालुवाबाट तेल’ निकाल्न खाेज्नु जस्ताे : डा. भट्टराई

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते १२:०८ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक – संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराई प्रमुख पार्टीहरुबीच सहमति हुन नसक्ने निष्कर्षमा पुगेका छन् । प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार आफ्नो ट्वीटरमा सहमतिको प्रक्रियालाई तेल निकाल्न ‘बालुवा पेल्ने काम’ भइरहेकाे टिप्पणी गरेका छन् ।

Baburam-Bhattarai_AP_20120907053211
केही दिन यता सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसँग निरन्तर संवादमा रहेका र संवाद समितिको बैठकमा समेत छलफल चलाइरहेका डा. भट्टराईको निराशापूर्ण अभिव्यक्तिले तीन दलहरु सहमतिमा संविधान निर्माण नगर्ने टुंगोमा पुगेको संकेत गरेको छ ।

‘बालुवा पेल्ने क्रम जारी छ ! तेल निस्कन्छ, निस्कन्न भन्न गाह्रो छ !’ भट्टराईले आइतबार साँझ ट्वीट गरेका छन् ।

अभिव्यक्तिमा उखानटुक्का र प्रसिद्ध भनाइहरुलाई जोड्न सिपालु माओवादी नेता भट्टराईले नेपाली उखान ‘बालुवा पेलेर कहिले तेल निस्कन्छ र ?’ भन्ने उखानको सहारा लिएर पार्टीहरुबीचको असहमतिलाई सार्वजनिक गरेका हुन् ।

उनले शनिबार मात्रै संस्कृतको ‘कर्मण्येवाधिकारस्थे मा फलेसु कदाचन’ अर्थात् ‘कर्म गर, फलको आशा नगर’ भन्ने गीताश्लोक ट्वीट गर्दै आफूले प्रधानमन्त्रीलाई भेट्न लागेको जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us