नेविसंघ देउवा पक्षले गर्ने भयाे अान्दाेलन

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते ११:४६ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक – पार्टीकाे संस्थापन पक्षको गलत नियतका कारणले नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन ७ औं पटक स्थगित भएकाे भन्दै त्यसको विरुद्धमा देउवा पक्षका विद्यार्थीले आन्दोलनको घोषणा गरेका छन् ।

देउवा पक्षधर विद्यार्थी नेताहरुले चुनावमा संस्थापन पक्षले आफ्ना पक्षका नेताहरुलाई टिके प्रथाबाट नेतृत्वमा अनुमोदित गर्न खोज्दा महाधिवेशन स्थगित भएको भन्दै अान्दाेलनमा जाने घाेषणा गरेका हुन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै देउवा समूहका अध्यक्षका उम्मेदवार नैनसिंह महरले नेविसंघलाई पार्टी सभापति सुशील कोइरालाले सात वर्षदेखि पंगु बनाउन लागि परेको आरोप लगाए ।

काेइराला पक्षले आफू पक्षका नेताहरुले चुनाव नजित्ने ठानेर महाधिवेशन स्थगित गरेको महरकाे दाबी छ । पूर्व उपाध्यक्ष गणेश विष्टले पनि पार्टी नेतृत्वले पटक-पटक महाधिवेश स्थगित गरेर विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरेको बताए ।

पत्रकार सम्मेलनमा उपाध्यक्षका उमेदवार द्रोण कुवार, खड्ग सुब्बा, केशरजंग शाही, तीर्थ गौतम, पुष्प शाही, पवन यादव लगायतले पार्टीले महाधिवेशन पटक-पटक स्थगित गरेर दुनियाँ हँसाएको तुरुन्तै महाधिवेशन मिति ताेक्न माग गरे ।

उनीहरुले आगामी मंसिर १ गतेदेखि पाँच गतेसम्म शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने, मंसिर ६ गते नेविसंघ केन्द्रीय कार्यालय तालाबन्दी गर्ने, मंसिर ७ गते प्रधानमन्त्री निवास बालुवाटार, पार्टी केन्द्रीय कार्यालय सानेपा र पार्टीका सबै जिल्ला पार्टी कार्यालयहरुमा नारा, जुलुश, धर्ना, अनशन, आमरण अनशन गर्ने लगायतका लगायतका आन्दोलन कार्यक्रम सार्वजनिक गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us