माधव नेपाल भन्छन्– पूर्वकमान्डर बोकेर सुरुङतिर जान खोजेपछि कसरी सहमति हुन्छ ?

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते १०:२९ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक – पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सहमति जुटाउनुपर्ने बेलामा पूर्व कमान्डर लिएर सुरुङ पस्छु भन्ने प्रवृत्तिले राजनीतिक गत्यावरोध अन्त्य नहुने बताएका छन् । पार्टी कार्यक्रममा केही दिनअघि रोल्पा पुगेका एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
madhav nepal
उनले राजनीतिक दलबीच संविधान निर्माण प्रक्रियामा सहमति हुन नसके प्रक्रियामा जानुपर्नेमा जोड समेत दिए । ‘सकेसम्म सबै राजनीतिक दललाई सहमतिमा ल्याएर संविधान निर्माण प्रक्रियालाई पूर्णता दिने हो तर सहमति हुन नसके प्रक्रियामा जानुको विकल्प छैन,’ उनले भने ।

भेहिकल सोलुसन एन्ड रिसर्च सेन्टरले आइतबार गरेको ‘नहोस् कतै दुर्घटना हामी सबैको चाहना’ विषयक कार्यक्रममा नेता नेपालले आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्न कुनै पनि कसर बाँकी नराखिने दाबी  गरे ।

सामाजिक तथा जातीय सद्भावलाई बिथोल्ने खालको जातीय राज्यको पक्षमा एमाले नरहेको भन्दै उनले भने, ‘पहिचान र सामथ्र्यका आधारमा राज्यको पुनःसंरचना गर्नुपर्दछ । त्यसका लागि सबै राजनीतिक दल तयार छन् । तर सद्भाव बिथोल्ने काम कहीँकतैबाट पनि हुनुहुँदैन ।’

सोही कार्यक्रममा एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रमुख राजनीतिक दलहरु विगतका सहमति र सम्झौतामा गम्भीर भएर संविधान निर्माणमा नलाग्ने हो मुलुक दुर्घटनाको निकट पुग्ने बताए ।

उनले कमसेकम १२ बुँदे सहमतिदेखिका सहयात्रीका बीचमा न्यूनतम सहमति हुनुपर्ने र प्रक्रियामा जान पनि सबैको मतैक्य रहनुपर्नेमा जोड दिए ।

सहमतिमै संविधान निर्माण गर्ने वातावरण तयार पार्न आफ्नो पार्टीका तर्फबाट अधिकतम प्रयत्न जारी राखिएको उल्लेख गर्दै श्रेष्ठले काँग्रेस र एमाले एक्लाएक्लै अगाडि बढ्न खोज्ने प्रवृत्तिका कारण समस्या उत्पन्न भएको स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us