पत्रकारले दलहरुबीच फाटो पारिदिनुभएन : प्रधानमन्त्री कोइराला

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते ९:३४ मा प्रकाशित

Pro_Ktm_Sangit Natya pratasthan ko program_PM Sushil Koiarala

काठमाण्डु, ३० कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारहरुलाई दलहरुबीच फाटो नपारिदिन आग्रह गरेका छन् । आफूहरुले तोकिएकै समय अर्थात् माघ ८ गतेभित्रै संविधान जारी गर्ने प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री कोइरालाले सबैलाई सकारात्मक दृष्टिकोण राख्न अनुरोध गरे ।

‘माघ ८ भित्रै संविधान ल्याइने छ, संविधान ल्याउनमा हामी सफल हुनेछाै,  त्यसका लागि सबैले सकारात्मक दृष्टिकोण राख्न आवश्यक छ, पत्रकारबाट पनि दलहरुबीच झगडा फैलाउने काम नहोस्,’ प्रधानमन्त्री कोइरालाले भने ।

आइतबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको सातौँ प्राज्ञ सभाको उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र विकासका लागि सरकारले संविधानलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्रीले मुलुकमा लोकतन्त्रले स्थायित्व पाएसँगै हरेक क्षेत्रले विकासको सुनिश्चितता प्राप्त गर्ने बताए ।

‘समाजका प्रत्येक क्षेत्रमा अभाव नै अभाव रहेको समयमा प्राज्ञहरुको योगदानबाट नेपालको कला र संस्कृतिको रक्षा गर्ने कार्यमा ठूलो उपलब्धि हासिल भएको छ,’ प्रधानमन्त्री कोइरालाले भने, ‘लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई संस्थागत गर्न नसकिएकै कारण आधा शताब्दीभन्दा लामो समयदेखि लोकतन्त्रको गाथाले पूर्णता पाउन नसकेको तथा सङ्घर्ष र आन्दोलनमै समय खर्चनुपरेको हो ।’

जनआन्दोलन २०६२\६३ बाट गणतन्त्र र सङ्घीयता जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएकाले ती उपलब्धिलाई स्थायित्व प्रदान गर्न तोकिएकै समयसीमा माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्ने आवश्यकतामा पनि कोइरालाले जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् प्रतिष्ठानका संरक्षक दीपकचन्द्र अमात्यले भाषा, साहित्य, कला, नाट्य तथा गीत–सङ्गीत क्षेत्रको विकास गर्नु राज्यको दायित्व भएको बताए ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मुलुकको ठूलो तागत भनेको विविधताबीचको एकता भएकाले भाषा, सङ्गीत, साहित्य तथा गीत–सङ्गीत र नाट्य विधाका माध्यमबाट सबै जातजाति र भाषाभाषीलाई एकीकृत तुल्याउन सक्नुपर्ने जिकिर गरे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति भक्तबहादुर श्रेष्ठ (सरुभक्त) ले जनआन्दोलनको उपलब्धिका रुपमा प्रतिष्ठानको स्थापनालाई लिइँदै आएकामा अझै पनि भौतिक पूर्वाधार र बजेटको कमीले गतिविधि प्रभावित भएको तीतो यथार्थ भोग्नुपरेको पीडा सुनाए ।

तस्विर – रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us