रोल्पामा हुने भयो अन्तर्राष्ट्रिय सिनेमा कार्यशाला

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते ८:०३ मा प्रकाशित

रोल्पा, ३० कात्तिक–एक समय राजनीतिक चिनारी प्रमुख भएको मध्यपश्चिमको रोल्पा जिल्लाले अहिले पर्यटकीय तथा सांस्कृतिक दृष्टिबाट पनि सबैको ध्यान आकर्षित गरिरहेको छ । नेपाली चलचित्र क्षेत्रले आउँदो माघमा अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला रोल्पामै गर्ने निर्णय गरेको छ ।

KP Pathak

अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला–२०१५ शीर्षकमा आगामी माघ २२ देखि फागुन १ गतेसम्म सदरमुकाम लिबाङमा अखिल नेपाल चलचित्रकर्मी सङ्घले पहिलोपटक यस्तो कार्यशाला गर्न लागेको हो ।

‘कार्यशालामा रोल्पाली कला, संस्कृति, पर्यटन र त्यहाँको सामाजिक अन्तद्र्वन्द्वमा आधारित १० वटा चलचित्र छायाङ्कन र प्रदर्शन गरिनेछ,’ आयोजक संस्था अखिल नेपाल चलचित्रकर्मी संघको अध्यक्ष केपी पाठकले भने, ‘त्यस अवधिमा रोल्पाको ऐतिहासिक, राजनीतिक, पर्यटकीय एवम् विविध महत्व बोकेको स्थानमा चलचित्रकर्मीलाई प्रत्यक्ष घुम्ने र स्थानीय कथावस्तु तयार गर्ने हाम्रो योजना छ ।’

कार्यशालामा चलचित्र क्षेत्रका ५० जना चलचित्रकर्मी, राष्ट्रिय तथा जिल्लास्तरका पत्रकार, साहित्यकार, कलाकार, उद्यमीलगायतको सहभागिता रहने जनाइएको छ ।
कार्यशाला सम्पन्न गर्न रोल्पा सदरमुकाम लिबाङमा चेतन कुँवरको संयोजकत्वमा १७ सदस्यीय व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

समितिको सदस्यमा जिल्लास्थित पत्रकार, साहित्यकार, उद्यमी, व्यवसायी, कलाकार तथा राजनीतिक दलका प्रतिनिधि रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us