
काठमाण्डु, १ मंसिर– नैनीतालको शेरउड कलेजमा पढ्ने एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको छ । कक्षा नौमा अध्ययनरत नेपाली विद्यार्थी शान प्रजापतिको उपचारका क्रममा दिल्ली लैजाँदा लैजाँदै शुक्रबार मृत्यु भएको स्कुल प्रशासनले बताएको छ ।
घटनापछि शानकोे परिवार दिल्ली पुगेको छ । परिवारले शानको मृत्यु शंकास्पद रहेको भन्दै छानविनको माग गरेको छ । स्कुलको हेलचक्राइँले आफ्नो छोरोका ज्यान गएको परिवारले दाबी गरेको छ ।
समाचार स्रोतहरुले जनाएअनुसार प्रजापतिको मृत्यु स्कुलमै वा बम्बई अस्पतालमा भएको हुन सक्छ तर उपचारका लागि दिल्ली लाँदै गरेको बहाना स्कुलले गरेको थियो ।
गौतम बुद्ध नगरका एसएसपी प्रितिन्दर सिंहले परिवाले स्कुलविरुद्ध जाहेरी दर्ता गरेको जानकारी दिएका छन् । अस्पताल पुगेका पूर्व विद्यार्थीहरुले पनि स्कुल प्रशासनको विराेध गरेका छन् ।
शान कक्षा नौमा अध्ययनरत थिए । उनकी आमा निना श्रेष्ठ काठमाडौंमा विश्व बैंकमा कार्यरत हुन् । श्रेष्ठले प्रहरीमा लेखाएको जाहेरीमा भनेकी छिन्, ‘स्कुलले नोभेम्बर १३ मै अस्पताल भर्ना गरेको भनेको छ, तर आइसियुमा भर्ना गरिंदा पनि ऊ स्कुलकै पोशाकमा छ । यो स्कुलकै लापरवाहीको परिणाम हो ।’
उनले छोरो विरामी भन्ने थाहा पाएर प्रिन्सिपललाई फोन गर्दा फोन रिसिभ नभएको र पछि हाउसमास्टरले फोन गरेको पनि प्रहरी उजुरीमा लेखेकी छिन् ।
शान बिरामी परेको र हल्दवानी अस्पतालमा उपचार भइरहेका भनेर स्कुलले परिवारलाई जानकारी दिएको थियो । पछि अपोलो अस्पतालमा भर्ना गरिएको थियो । शेरउड कलेजमा यस प्रकारको घटना यसअघि पनि भएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।