सार्कमा गाडीको भाडा मात्रै एक करोड ४५ लाख

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते २:०६ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनका लागि सरकारले भारतबाट ६ वटा बुलेटप्रुफ मार्सिडिज गाडी शनिबार ल्याएको छ ।
सम्मेलनमा आउने विभिन्न देशका राष्ट्रप्रमुखहरुका लागि ती गाडी ल्याएको हो । बुलेटप्रुफ ती गाडी एयर कार्गोमार्फत शनिबार काठमाण्डु ल्याइएको हो ।
भारतले सार्क सम्मेलन अवधिभर प्रयोग गर्न गाडी नि:शुल्क दिएको हो । ती गाडी नेपाली सेनाको जिम्मामा अन्तर्राष्ट्रिय विमानस्थलस्थित सैनिक ब्यारेकमा राखिएको छ । भारतबाट ल्याइने अन्य ३२ वटा गाडी भने सडक मार्ग हुँदै ल्याइँदै गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले जानकारी दिए ।
भारतको विदेश मन्त्रालयको पहलमा इन्डिया टुरिजम डेभलपमेन्ट कर्पोरेशनबाट ती गाडी भाडामा ल्याउन लागिएको हो । शनिबारर ल्याइएको गाडीको भाडा तिर्नुनपर्ने भए पनि स्थलमार्गबाट आउने गाडीको भने भाडा तिर्नुपर्नेछ । १७ दिन प्रयोग गरेबापत ३२ वटा गाडीको भाडा एक करोड ४५ लाख सरकारले तिर्नुपर्नेछ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us