वैद्यले मागे चन्दसँग स्पष्टीकरण

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १४:३१ मा प्रकाशित

mohan baidhya-netra bikram chandकाठमाण्डु, २९ कात्तिक–नेकपा–माओवादीले पार्टी हितविपरीत छुट्टै भेला गरेको विषयमा  सचिव नेत्रविक्रम चन्दसँग लिखित स्पष्टीकरण माग्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा शनिबार बसेको केन्द्रीय समिति बैठकले चन्दसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकमा चन्द पक्षका कोही पनि सहभागी थिएनन् ।

‘पार्टीको निर्देशन, विधि र पद्दतिविपरीत गतिविधि गरेकाले विप्लवजीसँग स्पष्टीकरण सोध्ने निर्णय भएको छ’, एक केन्द्रीय सदस्यले काठमाण्डु टुडेसँग भने, ‘बैठकमा बोल्ने सबैले उहाँका गतिविधि अराजक भएको बताउनुभएको छ ।’

बैठकमा बोल्ने केही सदस्यले भने चन्दसहित भेलामा सहभागी सबैलाई कारबाही गर्नुपर्ने बताएका थिए । प्रवक्ता पम्फा भुसालका अनुसार बैठकले सचिव चन्दको गतिविधि पार्टी फुटतर्फ केन्द्रित रहेको निष्कर्ष निकालेको छ ।

‘भेला रोकेर छलफलमा आउन पोलिटब्युरो बैठकले गरेको आग्रह लत्याउँदै उहाँहरुले भेला आयोजना गर्नुभयो, त्यसले उहाँहरुको नियत के हो भन्ने प्रश्न उब्जिएको छ’, उनले भनिन् ।

बैठकमा अहिलेको आवश्यकता एकता भएको ठहरसहित रुपान्तरण भएर पार्टी एकताबद्ध गर्न आग्रह गर्ने सहमति भएको उनले बताइन्

चन्द पक्षले २६ र २७ कात्तिकमा कपिलवस्तुको शिवगढीमा आफू पक्षधर कार्यकर्ताको राष्ट्रिय भेला गरेको थियो । भेलाले सशस्त्र क्रान्तिको तयारी गर्ने निर्णय गरेको छ । बैठक आइतबार पुन: बस्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us