कस–कसले गरे विप्लवलाई बाइबाई ?

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– कपिलवस्तुको शिवगढीस्थित जंगलमा आफू पक्षघर कार्यकर्ताको गोप्य भेला गराएर biplavसशस्त्र युद्धमा जाने लाइन लिएका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई उनकै पक्षका कतिपय नेताले साथ दिएनन् ।
एकीकृत र केन्द्रिकृत रुपमा अघि बढ्नुपर्ने बेलामा पार्टी फुटाउन खोजेको भन्दै उनीहरुले भेला बहिस्कार गरेका हुन् । भेलामा नजाने कतिपय केन्द्रीय सदस्यहरु विप्लवका विश्वास पात्र मानिन्थे ।

विप्लव समूहले गत २६ र २७ कात्तिकमा छुट्टै भेला गरी संघर्षका कार्यक्रम समेत तय गरेको थियो ।

विप्लवको लाइनमा असहमति जनाउँदै भेलामा सहभागी नुहने केन्द्रीय सदस्यहरुमा जयपुरी घर्ती, पदम राई, मौसम लिम्बू, बाबुराम नेपाली, एकराज भण्डारी, रामदीप आचार्य, ऋषिराज बराल, मायाप्रसाद शर्मा र पूर्ण घर्तीलगायत छन् ।

पोलिट्ब्युरो सदस्यत्रय धर्मेन्द्र बास्तोला, कुलबहादुर केसी र हितमान शाक्य तथा केन्द्रीय सदस्यहरु अमृता थापा, तारा घर्तीले यसअघि नै विप्लवको साथ छोडिसकेका थिए ।

विप्लवले हतारो गरे
स्रोतका अनुसार भेलामा नजाने मध्येका केहीले हतार नगर्न विप्लवलाई सुझाव दिएका थिए । पार्टीमा बहसका लागि भन्दै विप्लव समूहले पेश गरेको ‘एकीकृत क्रान्तिको सिद्धान्त’ शीर्षकको दस्तावेजमा छलफलै नभई विप्लवले हतार गरेको उनीहरुको भनाइ छ ।

‘हामी मोहन वैद्य र बादलहरुले क्रान्ति गर्छन् भनेर विप्लवको भेलामा नगएका होइनौं’, भेला बहिस्कार गरेका एक केन्द्रीय सदस्यले काठमाण्डु टुडेसँग भने, ‘महाधिवेशनका लागि पेश गरेको प्रस्तावमा छलफल हुन नपाउँदै उहाँले हतार गर्नुभयो, परिस्थिति परिपक्व बन्न दिनुपथ्र्यो ।’
छाड्नेहरु धोकेबाज
भेलालाई सम्बोधन गर्दै नेता चन्दले आफूले अति नै विश्वास गरेकाहरुले साथ छाडेको भन्दै दु:ख मानेका थिए । उनले केही नेताको नामै किटान गरी आउँछु भनेर पनि नआएको बताए ।

विप्लवले लिम्बूवान राज्य समितिका इन्चार्ज मौसम लिम्बू भेलामा नआएकामा सबैभन्दा बढी बिस्मात लागेको बताएका थिए ।

‘साथीहरुले आउन मन नभएको भए आउँदिन भन्नुभएको भए हुन्थ्यो’, विप्लवले भने, ‘अन्तिसम्म आउँछु भनेर धोका दिनुभयो ।’ मौसमकै कारण प्रतिनिधि छनोट हुन नसक्दा पूर्वाञ्चलबाट भेलामा सहभागी नआएको भन्द्यै उनले चित्त दु:खाए ।
विप्लव छाड्नेहरु यता न उता
अध्यक्ष वैद्य, महासचिव थापा र उपाध्यक्ष सिपी गजुरेलबाट माखो नमर्ने भन्दै विप्लवतिर लागेकाहरु भेला बहिस्कार गरेपछि घर न घाटको भएका छन् ।

भेलामा नगएकालाई विप्लव समूहले धोकेबाजको सूचीमा राखेको छ । विप्लवको आडमा समानान्तर पार्टी चलाएको भन्दै संस्थापन पक्ष पनि उनीहरुसँग रुष्ट छ ।

एकातिर भर्खरै सम्बन्ध विच्छेद भएको र अर्को पक्षले स्वीकार गरिहाल्ने अवस्था नरहेका कारण भेला बहिस्कार गर्नेहरु आफ्नो राजनीतिक भविष्यबारे चिन्तित भएका छन् ।

विप्लवलाई साथ छाड्ने मध्ये केही केन्द्रीय सदस्य माउ पार्टी एकीकृत माओवादीमै फर्कने सोचमा पुगेको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us