विप्लवको भेलामा प्रचण्डको प्रशंसै–प्रशंसा

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ११:१२ मा प्रकाशित

netra bikram chandकाठमाण्डु, २९ कात्तिक– सशस्त्र संघर्षको तयारीमा जुटेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले प्रचण्डका बारेमा के भन्लान ? आलोचना वा प्रशंसा के गर्लान् ? धेरैको अनुमान हुन सक्छ कि उनले प्रचण्डको चर्को आलोचना गर्नेछन् ।

तर त्यो अनुमान गलत सावित गर्दै विप्लवले आफू पक्षधर कार्यकर्ताका बीचमा प्रचण्डको मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

कपिल्वस्तुको शिवगढी जंगलमा २६ र २७ कात्तिकमा भएको गोप्य कार्यकर्ता भेलामा विप्लवले प्रचण्ड एउटा युगको नायक भएको बताए ।

उनले प्रचण्ड आँटिलो र हिम्मतवाला व्यक्ति भन्दै १० वर्षे जनयुद्धको कुशल नेतृत्व गरेकामा सबैले धन्यवाद दिनुपर्नेमा जोड दिए ।

उनले आफ्ना अध्यक्ष मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापालगायत नेताको अहिलेको हैसियत प्रचण्डले नै बनाइदिएको दाबीसमेत गरे ।

‘प्रचण्ड एउटा युगको नेता हो, उनले १० वर्षे जनयुद्धको इमान्दारीपूर्वक सफल नेतृत्व गरेका हुन्, विप्लवको भनाइ उद्धृत गर्दै एक सहभागीले काठमाण्डु टुडेसगँ भने, ‘उनले जे गरे त्यसका लागि धन्यवादका पात्र हुन्, त्यसैले प्रचण्डलाई धन्यवाद दिएर क्रान्तिको बाँकी यात्रा हामीले पूरा गर्नुपर्छ ।’

विप्लवले आवश्यकताअनुसार अघि वा पछि गरेर हिंड्न सक्ने असाधारण खुबीका कारण पुष्पकमल दाहाल प्रचण्ड बनेको उल्लेख गरे । प्रचण्डको प्रशंसा गर्दा गर्दै उनले युद्धको नेतृत्व आफूले गर्ने बताए ।

यद्यपि अध्यक्ष मोहन वैद्य तयार भए उनकै नेतृत्वमा आफू साधारण सदस्यको हैसियतमा लड्न तयार रहेको जनाए ।

‘किरणजी तयार हुनुभयो भने उहाँलाई नेतृत्व मानेर जान हामी तयारै छौ’, विप्लवले भने, ‘नेतृत्व जसले गरे पनि मतलब छैन, तर लड्नचाहिं पर्‍यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us