गाउँको ‘भर्जिनिटी’ जोगाउन घडेरी किनबेच बन्द

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ९:३६ मा प्रकाशित

गोरखाबजार, ९ कात्तिक – गोरखाको पर्यटकीय गाउँ बारपाकका स्थानीयले गाउँको मौलिकता जोगाउनका लागि गाउँको घडेरी बिक्री नगर्ने निर्णय गरेका छन् ।

अव्यवस्थित रुपमा घर बनाउने क्रम बढ्दै गएको र पर्यटकीय गाउँ कुरुप हुने सम्भावना देखिएको भन्दै गाउँलेले घडेरी किनबेचमा रोक लगाएका हुन् । गाउँको ‘भर्जिनिटी’ जोगाएर विदेशी तथा आन्तरिक पर्यटकलाई गाउँमा आकर्षण गर्न घडेरी किनबेच रोक्ने निर्णय गरिएको स्थानीय बासिन्दा जीतबहादुर घलेले जानकारी दिए ।

‘यहाँको मौलिक संस्कृति, भाषा, भेषभूषा, परम्परा हराउँदै गएको जस्तो गाउँलेलाई लाग्यो’ घलेले भने, ‘अन्य भाषा, संस्कृति मान्दै आएकाहरुले गाउँमा घडेरी किने, घर बनाए । हाम्रो संस्कार लोप हुने अवस्था देखेपछि घडेरी किनबेच बन्द गर्ने निर्णय गरेका हौँ ।’ बारपाकमा घडेरी किनेर पक्की घर बनेपछि गाउँ कुरुप देखिएको गाउँलेको भनाइ छ । गाउँलेले २०६५ सालको गाउँ परिषद्मा घडेरी किनबेच गर्न नपाउने निर्णय गरेका थिए ।

वारपाकको ४, ५, ६, ७, ८ र ९ मा एक हजार ३०० घरधुरीको बसोवास छ । यो एउटै गाउँ हो । यहाँ गुरुङ र घलेको संस्कृति अवलोकन गर्न पाइन्छ । यहाँको होमस्टे गत वर्ष नेपालकै उत्कृष्ट भएको थियो । ‘पर्यटकको चाप बढेपछि सहरका पर्यटन व्यवसायीले घडेरी किन्ने क्रम बढ्यो’ घलेले भने , ‘होटलहरु खुलेपछि गाउँको मौलिक संस्कृति हराएर जान्छ । होमस्टेको व्यापार पनि घट्छ ।’ बारपाकको ५० भन्दा बढी घरमा पर्यटकका लागि सुविधा सम्पन्न होमस्टे छ ।

स्थानीय बासिन्दा सुकबहादुर विश्वकर्माका अनुसार घडेरी किन्नका लागि गोरखा बजार, काठमाडौँ, पोखरादेखिका व्यापारीहरु पुगेका छन् । ‘सानो घडेरी त मिलाइदिनुस् भन्दै दिनहुँजसो सहरका मानिस आउँछन्’ उनले भने , ‘बिक्री गर्न हामीसँग घडेरी छैन भनेर फर्काइदिने गरेका छौँ ।’ ६ वर्षअघि बारपाकमा एक हात जमिनको एक लाखमा किनबेच भएको थियो । त्यसयता घडेरी किनबेच ठप्प छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us