धनगढी, २९ कात्तिक– मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह कैलालीले भारतको दिल्लीबाट एक बालिकासहित तीन जनाको उद्धार गरेको छ । उद्धार गरिएकामा कालीकोट घर भएका १३ वर्षीय राजे थापा, प्युठान घर भएका १० वर्षीय वीरे नेपाली र धनकुटा घर भएकी १४ वर्षीया एक बालिका रहेको पुनःस्थापना गृहका कार्यक्रम संयोजक वासु भट्टराईले बताए ।
भारतको चण्डीगढमा एक व्यक्तिको घरमा घरेलु कामदारका रुपमा काम गरिरहेकी ती बालिका घरमा गर्ने गरिएको दुव्र्यवहार सहन नसकेर भागेपछि भारतीय प्रहरीको सहयोगमा स्थानीय संस्थाको संरक्षणमा रहेकी थिइन् । तीन वर्षअघि बालिकालाई उनका आफ्नै भिनाजु नाता पर्नेको साथीले त्यहाँ पु¥याएको बताइएको छ ।
दुई बालक भने साथीहरूको लहलहैमा लागेर एक वर्ष अगाडि दिल्ली पुगेका थिए । दिल्लीमा ती बालक पनि जोखिमपूर्ण काममा लागेको फेला परेको बताइएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत बालबालिकालाई शान्ति पुनःस्थापना गृहमा बुझाइएको छ । कार्यक्रम संयोजक भट्टराईले दुई बालकलाई उनीहरूका आफन्तलाई बुझाउने तयारी गरिए पनि बालिकाको आफन्तको भने अहिलेसम्म पहिचान नभएकाले उनको उचित पुनःस्थापनासहित शिक्षाका लागि पहल गरिने जानकारी दिए ।