मध्यरातमा रक्सीले मातेर श्रीमती कुटेपछि आत्महत्या

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते १०:०१ मा प्रकाशित

उदयपुर , २८ कात्तिक – उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित खसीबासमा गएराति ११ बजेतिर स्थानीय २२ वर्षीय राजकुमार तामाङले मादक पदार्थ सेवन गरेर श्रीमती कुटपिट गरी आफुलाई गोली हानेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) टेकबहादुर गुरुङका अनुसार राति मादक पदार्थ सेवन गरेका राजकुमारले २१ वर्षीया श्रीमती इन्दिरा (लामा) तामाङसँग झगडा भएपछि श्रीमतीलाई निर्घात कुटपिट गरेका थिए ।

राजकुमारको कुटाइबाट श्रीमती बेहोस भएपछि श्रीमतीको मृत्यु भएको ठानेर राजकुमारले घरमा राखेका भरुवा बन्दुकले आफ्नै छातीमा हानेर आत्महत्या गरेको उदयपुरका प्रहरी प्रमुख गुरुङले बताए ।

यता घाइते इन्दिरालाई भने अहिले एम्बुलेन्समा उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको प्रहरीले बताएको छ ।

घटनास्थल चुरे जङ्गलस्थित सिरहाको भावर क्षेत्र नजिकै पर्ने हुनाले भर्खरैमात्र इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

सबै विस्तृत घटना विवरण अझै नआइसकेको र घटनास्थलमा भर्खंरै पुगेको प्रहरी टोलीले बताएपछि मात्र सबै कुरा थाहा हुने प्रहरीले बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us