धार्मिक शिक्षामा भारतको साढे चार करोड अनुदान

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ९:५७ मा प्रकाशित

म्याग्दी , २८ कात्तिक – मुस्ताङमा रहेको थेग्चेन लिङ गुम्बामा आवास गृह र भोजन गृह निर्माण गरी धार्मिक शिक्षालाई प्रोत्साहित गर्ने उद्देश्यले भारत सरकारले चार करोड ४४ लाख अनुदान सहयोग गर्ने भएको छ ।

उक्त सहयोगका लागि गत मङ्गलबार नेपालस्थित भारतीय दूतावास र मोञ्चो थेग्चेन लिङ गुम्बाबीच सम्झौता भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले जानकारी दिए ।

प्रजिअ भण्डारीका अनुसार भारतले नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत सहयोग गर्न लागेको हो । उक्त गुम्बा मुस्ताङवासीको ऐतिहासिक सम्पदा भएको र आवास र भोजनगृहको अभावमा गुम्बावासीलाई धार्मिक शिक्षाको लागि कठिनाइ भएकाले भारत सरकारले भवन निर्माणमा सहयोग गर्न लागेको बताइएको छ ।

यसअघि पनि भारतको १६ करोड २२ लाखको लागतमा मुस्ताङमा विद्यालय भवन, नदी नियन्त्रण, कालीगण्डकी पुल निर्माण, मुक्तिनाथमा धर्मशालालगायतका परियोजना सुचारु भइरहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us