जापानमा अंग्रेजी पढाउने नेपालीलाई ‘बेस्ट टिचर अवार्ड’

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ९:५४ मा प्रकाशित

खोटाङ, २८ कात्तिक – जापानमा अध्यापन गरिरहेका खोटाङका एक व्यक्ति ‘बेस्ट टिचर अवार्ड’बाट सम्मानित भएका छन् ।

अङ्ग्रेजी भाषा पढाउँदै आएको जापानको टोकियोस्थित सिनोकुबोको सामु ल्याङ्ग्वेज स्कुलमा कार्यरत खोटाङ डाँडागाउँका भुवन रोकाले कान्तो क्षेत्रबाट ‘बेस्ट टिचर अवार्ड’ प्राप्त गरेका हुन् ।
जनवरी २०१३ देखि जापानमा अध्यापनको काम गर्दै आएका रोकालाई सिनोकुबोको सामु ल्याङ्ग्वेज स्कुलले बेस्ट टिचर अवार्ड २०१३–०१४ बाट सम्मान गरेको जनाइएको छ ।

रोकाका अनुसार जापानमा ५०० शाखा रहेको सो विद्यालयमा करिब ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थी भिसामार्फत डिसेम्बर २०११ मा जापान पुगेका रोकाले कान्तो क्षेत्रको शाखामा कार्यरत १५० विदेशी शिक्षकलाई पछि पार्दै अवार्ड हात पारेको बताए ।

कर्मचारी मात्रै एक हजार ३०० रहेको सो कम्पनीमा ४५० जना विदेशी शिक्षकले अङ्ग्रेजी पढाउने गरेका छन् ।

रोकाका अनुसार विद्यालयमा कार्यरत प्रायः शिक्षक जापानबाहेक अङ्ग्रेजीमूलका अष्ट्रेलिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड, बेलायतलगायत देशका छन् । प्रि–स्कुल कोर्स, इलेमेन्टरी कोर्स, जुनियर हाइस्कुल कोर्स र एडल्ट कोर्स सञ्चालन गर्दै आएको स्कुलमा रोकाले सबै स्तरका कोर्स पढाउँदै आएका छन् ।

खोटाङबाट २०५६ सालमा काठमाण्डु पुगेर विभिन्न बोर्डिङ स्कुलमा अध्यापन गरेका रोका संस्थागत विद्यालय शिक्षक युनियनको काठमाण्डु उपाध्यक्षसमेत थिए ।

अङ्ग्रेजीमा एमएड रोकाले बानेश्वरस्थित अरुणदीप हाइस्कुल र माउन्ट सेनाइ हाइस्कुलमा संस्थापक प्रधानाध्यापक रुपमा पाँच वर्ष बिताएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us