आमाबाबु गुमाएकालाई समाजसेवीले उच्च शिक्षासम्म पढाइ दिने

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ८:५१ मा प्रकाशित

खोटाङ, २८ कात्तिक – आमाबुबा दुवै गुमेपछि विचल्लीमा परेका खोटाङका छ बालबालिकाका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । वैदेशिक रोजगारीको सिलसिलामा बुबाले विदेशमै ज्यान गुमाउना साथ आमा अर्कैसँग पोइल हिँडेपछि वृद्ध बाजेसहित छ बालबालिकाको विचल्ली भएको खबर सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भएपछि देश तथा विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग जुट्न थालेको हो ।

जिल्लाको दक्षिणी गाविस मौवाबोटे–५ सार्पाका भीम भनिने होमबहादुर राईको तीन वर्षअघि विदेशमा ज्यान जानासाथ उनकी श्रीमती हिरा पोइल गएपछि विचल्लीमा परेका उनका ७३ वर्षीय बुबा लालबहादुर राई, १४ वर्षीया छोरी जुना, १२ वर्षीय छोरा सुदिप, १० वर्षीय छोरा सुनिल, नौ वर्षीया छोरी मुना, आठ वर्षीय छोरा निखिल र छ वर्षीया छोरी पुजना राईको जीवनयापन तथा शिक्षादीक्षाका लागि आर्थिक सहयोग गरिएको सहयोगदाताहरुले बताएका छन् । उनीहरुका लागि हालसम्म रु दुई लाख १८ हजार २८७ सङ्कलन भइसकेको जिल्लामा समन्वय गरिरहेको किरात राई यायोक्खा खोटाङका सचिव तथा आर्थिक सहयोग सङ्कलन समितिका संयोजक युगशन किरातीले जानकारी दिए । सङ्कलित रकम किरात राई यायोक्खाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ भने, तीन बालबालिकालाई लालनपालन तथा शिक्षादीक्षाका लागि दुई समाजसेवीको जिम्मा लगाइएको छ ।

इजरायल, दक्षिण कोरिया, अष्टे«लिया, मलेसिया, कतारलगायतका देशमा रहेका नेपालीहरुबाट समेत आर्थिक सहयोग सङ्कलन भइरहेको जनाइएको छ । इन्द्र नाराथुङ्गेको संयोजनमा मलेसियामा कार्यरत नेपालीहरुबाट एक लाख ४० हजार जम्मा भएको जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us