प्रचण्डलाई उत्तेजक भाषण गर्दै नहिंड्न नेपालको आग्रह

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ७:०७ मा प्रकाशित

विराटनगर, २८ कात्तिक – एमाले नेता माधवकुमार नेपालले संविधान निर्माणका लागि राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको बताएका छन् ।

prachanda-and-madhav-nepalप्रेस चौतारी मोरङद्वारा शुक्रबार बिहान विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यसका लागि सबै दलहरुलाई लचकता अपनाउन र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गैरजिम्मेवारपूर्ण र उत्तेजनामूलक अभिव्यक्ति नदिई वार्ताद्वारा सहमतिको बिन्दु खोज्न आग्रह गरे ।

जातीयताको आधारमा सङ्घीय राज्य दिएर मुलुकलाई टुक्रा–टुक्रा गर्न नपाइने उल्लेख गर्दै उनले भौगोलिक र जातीय एकतालाई ध्यानमा राखी आधुनिक सुसंस्कृत राज्य निर्माणका लागि सबै अग्रसर हुनुपर्ने विचार व्यक्त गरे ।

नेपालमा हुन गइरहेको सार्क सम्मेलनअगावै संविधान निर्माणको विषयमा दलहरुबीच सहमति हुुनु आवश्यक रहेको आँैल्याउदै नेता नेपालले यस विषयमा विदेशी नेताहरुको उपदेश सुन्नु नपरोस् र हामी आफ्नो समस्या समाधान गर्न सक्षम छौँ भनि सन्देश दिनका लागि एक्यबद्ध हुनु आवश्यक रहेको उल्लेख गरे ।

उनले तोकिएको समयमा संविधान निर्माण गर्नका लागि दलहरुबीच अविलम्ब सहमतिका साथै संविधानको विषयमा तीव्र गतिमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

सङ्घीय राज्यको सङ्ख्या, शासकीय स्वरुपलगायतका विषयमा जनमत सङ्ग्रह आवश्यक नरहेको स्पष्ट पार्दै नेता नेपालले सबै धर्म समान रहेको नीतिलाई मुलुकले अङ्गिकार गरेको विचार प्रकट गरे ।

उनले एमाले पार्टी एकताबद्ध रहेको उल्लेख गर्दै उनले पार्टीभित्र अझै सुधारको आवश्यकता देखिएकाले एकलौटी निर्णय सच्चयाउनुपर्ने, गुटबन्दी अन्त्य गर्नुपर्ने र क्षमताअनुसार पार्टीभित्र जिम्मेवारी दिनुपर्ने सुझाव प्रकट गरे ।

संविधान निर्माणको सन्दर्भमा जनताको राय सुझाव सङ्कलनका लागि नागरिक समन्वय समितिलाई सरकारले सात अर्ब निकास गर्न लागेको चर्चा भइरहेको सन्दर्भमा उनले यस अघि पनि यस कार्यका लागि चार अर्ब खर्च भइसकेकाले यस्ता रकम निकासा नगर्न सरकारसमक्ष आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us