७ हजार लिटर मदिरा पोख्दा गाउँमा गयो बाढी

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ६:१२ मा प्रकाशित

जाजरकोट, २८ कात्तिक – जिल्लामा मदिरा नियन्त्रणका क्रममा प्रहरीले ६ महिनामा सात हजार ५०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

raksiतीन हजार ८०० लिटर जाँड, तीन हजार ७०० लिटर मदिरा र एक क्विन्टल नौ किलो मदिराजन्य औषधि नष्ट गरेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले ३०० थान मदिरा उत्पादन उपकरणसमेत बरामद गरेको छ । विगत छ महिनाको अवधिमा उक्त मदिरा नष्ट गरेको हो ।

खलङ्गाबजार, रिम्ना, दल्ली, रामीडाँडा, दशेरा, सक्ला, पैंक, नायकबाडा, गर्खाकोट, अर्छानी, जगतिपुर, मैदे, ढिमे, रग्दालगायत स्थानमा प्रहरीले सबैभन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताए । जसमध्ये सदरमुकाम खलङ्गामा मात्र तीन हजार ५०० लिटर अवैध मदिरा नष्ट गरिएको छ ।

पछिल्ला दिनमा प्रहरीले जिल्लामा घरेलु मदिराको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ । मदिरा उत्पादन तथा बिक्रीले सामाजिक अपराधका घटना बढ्न थालेपछि रोक लगाएको हो ।

यसले जिल्लाको शान्ति सुरक्षाको प्रबन्धमा सहयोग पुर्‍याएको छ । यसै क्रममा दिउँसै मदिरा सेवन गरेर होहल्ला गर्ने आठ दर्जनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको मैनालीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us