काठमाण्डु, २८ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग रुष्ट भएका छन् ।
प्रचण्डले त्यसबारे सार्वजनिक रुपमा केही टिप्पणी गरेका छैनन् । तर उनका स्वकीय सचिव चुडामणि खड्काले उपाध्यक्ष श्रेष्ठप्रति फेसबुकमार्फत आपत्ति जनाएका छन् ।
खड्काले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न आवश्यक उर्जा लिन जनयुद्धको आधार इलाकाका जनतासँग भेट्न जाँदा पार्टी अध्यक्षमाथि ‘बाटोमा
बोल्दै हिंडुनुको अर्थ छैन’ भन्ने टिप्पणी गर्नु जनयुद्ध र सहिदहरुको अपमान भएको टिप्पणी गरेका छन् । उनले त्यस्तो अपमान स्वीकार्य नहुने पनि उल्लेख गरेका छन् ।
‘संविधान निर्माण र शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्नका निम्ति जनयुद्धको आधारइलाकाका जनतासँग भेटेर उर्जा लिन जानु भएका पार्टी अध्यक्षलाई बाटोमा बोल्दै हिंड्नुको अर्थ छैन भन्नु जनयुद्ध र गणतन्त्र स्थापनाका निम्ति शहादत प्राप्त गर्ने सहिदहरुको अपमान हो ।
यो अपमान स्वीकार्य छैन’, खड्काले भनेका छन् । प्रचण्ड रोल्पा गएकामा असन्तुष्ट भट्टराई र श्रेष्ठले भट्टराई निवास सानेपामा बिहीबार पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डलाई शान्ति र संविधान निर्माण प्रक्रियाबाट भाग्न नदिने बताएका थिए ।
त्यस क्रममा उपाध्यक्ष श्रेष्ठले प्रचण्डतर्फ लक्षित गर्दै संविधानसभाको प्रक्रिया छाडेर बाहिर बोल्दै हिंड्नुको अर्थ नभएको टिप्पणी गरेका थिए ।