संविधान नबनेसम्म सरकारमा नजाने मधेसवादी दलको घोषणा

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– संविधानसभाभित्र रहेका मधेसी दलले संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म सरकारमा नजाने घोषणा गरेका छन् ।

विभिन्न ६ मधेसवादी दलको फोरम लोकतान्त्रिको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो ।

एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा कमजोर बनाउने रणनीतिसहित विपक्षीले मधेस केन्द्रित दललाई सरकारमा ल्याउने तयारी गरिरहेका थिए ।

तमलोपा सहअध्यक्ष हृदयेश त्रिपाठीले मधेसका मुद्दा कमजोर बनाउने नियतका साथ सत्ताधारी दलले सरकारमा आउन आग्रह गरेको निष्कर्षसहित बैठकले तत्काल सरकारमा सामेल नहुने निर्णय गरेको जानकारी दिए ।

‘मधेस मुद्दा कमजोर पार्न हामीलाई सरकारमा लाने खेल भइरहेको छ’, त्रिपाठीले भने, ‘संविधान नबनेसम्म हामी सरकारमा नजाने भन्ने कुरा भयो ।’

बैठकमा फोरम लोकतान्त्रिक, फोरम नेपाल, तमलोपा, सदभावना पार्टी, तराई मधेस सदभावना र राष्ट्रिय मधेस सदभावना पार्टीका नेता सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us