काठमाण्डु, २७ कात्तिक– आसन्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनका बेला आतंकवादी घुसपैठ हुने आशंकामा सुरक्षा निकायले नेपालमा बस्ने मुस्लिम समुदायमाथि निगरानी बढाएको छ ।
सार्क सम्मेलन नजिकिँदै गर्दा राजधानीसहित तराई क्षेत्रमा सुरक्षा निकायले मुस्लिम समुदायमाथि निगरानी राख्न थालेको हो । पछिल्लो समय राजधानीमा मुस्लिम समुदायका मानिसको चहलपहल ह्वात्तै बढेको दाबी सुरक्षा निकायको छ । प्रहरी स्रोतका अनुसार काठमाण्डुका बागबजार, जमल, ठमेलसहित मानिसहरुको भिडभाड हुने क्षेत्रमा नयाँ मुस्लिम अनुहार देखिन थालेको छ ।
किन बढाइयो मुस्लिम समुदायमाथि निगरानी ?
गत कात्तिक १८ गते कतार एयरको जहाजबाट नेपाल आएका सिरियाली नागरिक बिबार्स इस्माइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । उनी ००६५६५२०७ नम्बरको नक्कली राहदानीमा नेपाल छिरेका थिए ।
उनी अहिले अध्यागमनको हिरासतमा छन् । इस्माइन अन्तर्राष्ट्रिय आतंकवादी संगठनको योजनामा नेपालमा अशान्ति मच्चाउन आएको हुन सक्ने आशंका प्रहरीको छ । इस्माइनमाथि छानबिन जारी छ ।
अघिल्लो साताको शनिबार एक सन्दिग्घ बंगलादेशी नागरिक बिनाराहदानी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिए । उनी भारत प्रवेश गर्ने क्रममा रुपन्देही नाकाबाट पक्राउ परे उक्त घटनाले भारतीय सुरक्षा निकायमा तरंग पैदा गरेको छ ।
अर्को कारण मोदी
सार्कमा सबैभन्दा बढी सुरक्षा ‘थ्रेट’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रहेको निष्कर्षमा नेपाल र भारतका सुरक्षा अधिकारी पुगेका छन् । त्यसैले मोदीलाई मात्र लक्षित गरी सुरक्षा रणनीति तय गरिएको छ ।
अझ मोदी स्थलमार्गबाट जनकपुर आउने भएपछि भारतीय सीमा क्षेत्र र तराईमा अहिल्यैदेखि सुरक्षा सतर्कता बढाइएको छ । मोदीलाई कट्टर हिन्दुवादी मानिन्छ । यही कारण मोदीमाथि मुस्लिम आतंकवादी समूहले तारो बनाएको भारत र नेपाल दुवै देशका सुरक्षा अधिकारी बताउँछन् ।