बाबुराम र नारायणकाजीको पत्रकार सम्मेलनबाट प्रचण्ड सशंकित

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– दुई फरक धारको प्रतिनिधित्व गर्ने एमाओवादी नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बिहीबार एकै ठाउँमा बसेर पत्रकार सम्मेलन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मनमा चिसो पसेको छ । प्रचण्डको अनुपस्थितिमा भट्टराई निवास सानेपामा गरिएको पत्रकार भेटघाट अध्यक्ष प्रचण्डसँग सल्लाह नै नगरी गरिएको स्रोतले बताएको छ ।

brb-nrn
संविधान निर्माण प्रक्रियाको काममा सक्रिय हुने बेलामा प्रचण्ड रोल्पा गएको प्रति संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति भट्टराई केही दिनदेखि नै असन्तुष्ट थिए । उपाध्यक्ष श्रेष्ठ पनि बाह्रबुँदे समझदारीदेखिका सहयात्रीबीच सहमति हुनुपर्ने भन्दै प्रचण्डले राजधानीबाहिरका सभामा बोलेका कुराबारे घुमाउरो असहमति राखेका थिए ।
बिहीबार साँझै काठमाण्डु फर्कन लागेका प्रचण्ड भने दुई नेताको संयुक्त पत्रकार सम्मेलनबाट सशंकित भएको लाजिम्पाट स्रोतले ‘काठमाण्डु टुडे’लाई बतायो । ‘उहाँहरुले पत्रकार सम्मेलनमा के–के बोल्नुभयो भन्ने विषयमा अध्यक्षले चासो राख्नुभएको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘त्यो सम्मेलन पार्टीको पूर्व निर्णय अनुसार भएको होइन । त्यसले पार्टीको आधिकारिक धारणा राख्ने कुरा पनि हुँदैन ।’
पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले पार्टीको तर्फबाट र भट्टराईले संवैधानिक समितिको सभापतिको तर्फबाट आफ्ना धारणा राखेका थिए । पत्रकार सम्मेलनमा भट्टराई पक्षीय नेताहरु एमाओवादी सचिव टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य देवेन्द्र पौडेल र हिसिला यमि पनि सहभागी थिए ।
काठमाडौंमै रहेका प्रचण्ड पक्षधर मानिने केन्द्रीय नेताहरु पनि सम्मेलनमा उपस्थित थिएनन् ।
एमाओवादीभित्र श्रेष्ठ र भट्टराईले दुई भिन्दै धाराको प्रतिनिधित्व गर्दछन् । तर, अध्यक्ष प्रचण्डको कार्यशैली र आचरण सम्बन्धमा भने यी दुवै नेता बेलाबेलामा एक ठाउँमा उभिने गरेका पाइन्छ ।
चार वर्षअघि भएको धोबीघाट गठबन्धनमा पनि यी दुई नेता तत्कालीन वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’को नेतृत्वमा प्रचण्डको कार्यशैली, जिम्मेवारी बाँडफाँड र आर्थिक अपारदर्शिताको मुद्दा उठाउँदै एकै ठाउँमा उभिएका थिए ।
संविधान निर्माणका सम्बन्धमा कांग्रेस एमालेको साझा प्रस्तावप्रति असन्तुष्टि जनाउँदै प्रचण्ड जिल्ला जिल्लामा सभा गर्दै हिंडिरहेका बेला यी दुई नेताको संयुक्त पत्रकार सम्मेलनलाई एमाओवादीभित्र फेरि अन्तसंघर्ष चर्कन सक्ने सम्भावनाका रुपमा हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us