भूतपूर्व गोर्खा सैनिकलाई भारतीय सेना सरह सुविधा दिन तयार : सेनाध्यक्ष

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहेका भारतीय सेनाका स्थल सेनाध्यक्ष दलबीर सिंहले बिहिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।

dalbir singhभेटका अवसरमा नेपाल भारत सैन्य सम्बन्ध र आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो ।

भेटमा भारतीय सेनाध्यक्ष सिंहले भारतको सैन्य सेवामा नेपालीहरुले महत्वपूर्ण योगदान गरेको बताउँदै भारतीय सेनामा कार्यरत भूतपूर्व गोर्खा सैनिकहरुलाई भारतीय भूतपूर्व सैनिकहरुले पाएसरहको कल्याणकारी सहुलियत दिन भारत सरकार इच्छुक रहेको उल्लेख गरे । उनले भूतपूर्व गोर्खा सैनिकलाई क्यान्टिन र औषधोपचार सेवा प्रदान गर्न भारत सरकार तयार रहेको पनि बताएका थिए ।

भेटवार्तामा भारतीय सेनाध्यक्ष सिंहले आन्तरिक विद्रोहमा लागेका माओवादी लडाकूहरुको समायोजन छोटो समयमा सफलतापूर्वक सम्पन्न गरी नेपालले विश्वसामु एक उदाहरण प्रस्तुत गरेको उल्लेख गरे ।

वार्तामा प्रधानमन्त्री कोइरालाले नेपाल र भारतबीच हरेक क्षेत्रमा अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको प्रष्ट्याए । उनले नेपाली जनताले विगत ६ दशकभन्दा बढीको समय प्रजातन्त्रको स्थापना, पुनस्थापना र संस्थागत विकासको संघर्षमा विताउन परेकोले विकासमा त्यति ध्यान दिन नपाएको बताउदै संविधानसभाबाट निर्धारित मितिमा संविधान जारी भएपछि विकासको गति तीव्र हुने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us