सार्कमा सम्झौता गर्ने अख्तियारी परराष्ट्र मन्त्रीलाई

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १०:२९ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनका क्रममा हुने सम्झौताहरुका लागि सरकारले परराष्ट्र मन्त्रीलाई अख्तियारी दिने निर्णय गरेको छ ।

mahendra bdr pandeyमन्त्रिपरिषद्को बिहिबारको बैठकले सार्कको काठमाण्डु शिखर सम्मेलनमा हुने सम्झौता तयारीका लागि परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई अख्तियारी दिने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिए ।

सम्मेलनमा सार्कका मुलुकहरुबीच रेल तथा सवारी साधन सम्झौताका साथै ऊर्जा सहयोगसम्बन्धी विभिन्न सम्झौताहरु हुने बताइएको छ ।

सरकारले आजै नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रामकृष्ण पोखरेल, नेपाल दूरसञ्चार प्राधिकरणको सदस्यमा टीकाप्रसाद उप्रेती र भूमिगत जलस्रोत विकास समितिको कार्यकारी निर्देशकमा जगतप्रसाद जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय अनुसन्धान विभागको सह–अनुसन्धान निर्देशकहरु यदुलाल खरेल, राजुकुमार अर्याल, यादवप्रसाद रेग्मी र यतिराज पङ्गेनीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार मन्त्री डा रिजालले बताए ।

साथै सरकारले स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति निर्माणको आवश्यकता महसुस गरी सिफारिसका लागि उच्चस्तरीय कार्यदल गठन गर्नुका साथै नेपाली सेनाका केही सहायक रथी र महासेनानी अधिकृतहरुको सरुवा पनि गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us