कोइरालाको कुर्सीमा बस्ने नैतिक अधिकार समाप्त : नेविसंघ

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ९:२२ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक – नेपाली काँग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको ठाडो निर्देशनमा पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित भएकोमा विद्यार्थीहरुले घोर आपत्ति जनाएका छन् ।

nsuबिहिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विधार्थीहरुले पार्टी नेतृत्वले आफ्ना उम्मेदवारहरुले चुनाव नजित्ने भएका कारण आसन्न १८ औं सार्क शिखर सम्मेलनलाई बहाना मात्रै बनाएर महाधिवेशन स्थगित गरेकोप्रति आक्रोश पोखेका छन् ।

अध्यक्षका प्रत्यासी एवम् शंकरदेव क्याम्पसका सभापति शुभराम बस्नेतले पार्टी सभापतिले आफ्ना गोजीका उमेद्धवारले चुनाव हार्ने देखेपछि महाधिवेशन स्थगित गरेको आरोप लगाएका छन् ।

बस्नेतले भने– ‘एउटा नेताको सन्कीले महाधिवेशन स्थगित गर्नु भनेको आन्तरिक लोकतन्त्रमाथिको चीर हरण हो, हामीलाई यो निर्णय किमार्थ मान्य छैन । हामीले पार्टी नेतृत्वविरुद्ध आन्दोलनको तयारी समेत गरिसकेका थियौं, तर केही शीर्ष नेताहरुले तत्काल आन्दोनल नगर्न आग्रह गरेकाले स्थगित गरेका छौं । ’

बस्नेतले आफूहरुले कोठाभित्रैबाट भएपनि विरोधको कार्यक्रम शुरु गरेको उल्लेख गर्दै विना कारण महाधिवेशन स्थगित गरेकोमा पार्टी सभापतिले तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् । उनले भने–‘उहाँलाई सभापतिको कुर्सीमा बस्ने नैतिक अधिकार छैन, आफ्नो पक्षका उमेद्धवारको पोल्टामा नेतृत्व नआउने देखेपछि महाधिवेशन अन्त्य गर्नु आफैमा अलोकतान्त्रिक हो ।’

२० वर्षदेखि विधार्थी राजनीतिमा रहेको आफूहरुको लागि पटक–पटक महाधिवेशन स्थगित गर्ने निर्णय असह्य भएको समेत बस्नेतले आक्रोश पोखे । उनले लोकतन्त्रको पहरेदार ठान्ने पार्टीले आफ्नो भातृ संगठनको महाधिवेशन पटक–पटक स्थगन गर्दा सार्कमै नराम्रो सन्देश जाने भन्दै पार्टी नेतृत्वको विरोध समेत गरे ।

पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहले महाधिवेशनको सम्पूर्ण तयारी पुरा हुँदाहुँदै पनि पार्टी नेतृत्वले एक्कासी स्थगित गर्नु अत्यन्तै दुखद भएको टिप्पणी गरेका छन् । पटक–पटक महाधिवेशन स्थगन गर्दा पार्टीलाई नै घाटा हुने भन्दै यस्ता अलोकतान्त्रिक निर्णयलाई तत्काल सच्याएर निर्धारित मिति मै महाविधेशन गर्नुपर्ने शाहले बताए ।

पूर्वउपाध्यक्ष नैनसिंह महरले पनि पार्टी नेतृत्व प्रजातन्त्रको आधारभूत मूल्य र मान्यताबाट विमुख भएर भातृसंगठनको महाधिवेशन स्थगन गर्नु भनेको लोकतन्त्रमाथिको ठाडो प्रहार भएको टिप्पणी गरेका छन् । महरले आफूहरु पार्टीविरुद्ध असहयोग र अवज्ञा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

कार्यक्रममा पूर्वाञ्चलका उपाध्यक्षका प्रत्यासी तीर्थ गौतम, मध्यमाञ्चलका उपाध्यक्षका प्रत्यासी रविन्द्र शाह, सुदुरपश्चिमका उपाध्यक्षका प्रत्यासी पुष्पाकुमार शाही, मध्यपश्चिमाञ्चलका उपाध्यक्षका प्रत्यासी केशर शाही, दुरेन्द्रकुमार राई, हरिश्चन्द्र भण्डारी लगायत विद्यार्थी नेताहरुले महाधिवेशन स्थगनप्रति आक्रोश पोख्दै पार्टी सभापति सुशील कोइरालाले राजिनामा दिनुपर्ने माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us