५० लाख लुट्ने डाँका जेल चलान

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ९:०९ मा प्रकाशित

गौशाला, २७ कात्तिक – महोत्तरी जिल्लाको गौशालास्थित सहयोगी विकास बैंकको ५० लाख लुट्ने डकैती गिरोहका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

जेल चलान हुनेमा जिल्लाको फुल्काहा गाविस–८ बस्ने ३६ वर्षीय प्रमोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विसं २०७० जेठ २९ गतेका दिन ना २ च २६२२ नम्बरको जिपमा सहयोगी विकास बैंक जनकपुरबाट शाखा कार्यालय महोत्तरीको गौशालामा लैजाँदै गरेको ५० लाख सशस्त्र नकाबधारी डाँकाहरुको समूहले गौशाला–८ मा लुटेको थियो ।

बैंकको पैसा लुटेर फरार रहेका चौधरीलाई जिप्रका महोत्तरीबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएकामा आज जिल्ला अदालत महोत्तरीले डाँका चौधरीलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।

यस घटनामा संलग्न तीनजनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले थप बाँकी अभियुक्तहरुको खोजी जारी राखेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us