
काठमाण्डु, २७ कात्तिक – उद्योगमन्त्री महेश बस्नेतले नेपालको औैद्योगिक क्रान्तिको जग बसाल्न नयाँ वैदेशिक लगानी नीति ल्याउने बताएका छन् । अर्थमन्त्रालयको असहयोगले केही दिन पर गएको भएपनि छिट्टै वैदेशिक नीति ल्याउने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गरे ।
बिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बस्नेतले विशेष आर्थिक क्षेत्र (सेज) प्रति विदेशी उद्योगी तथा व्यापारीहरुको आकर्षण बढाउन वैदेशिक लगानी नीति ल्याउन लागिएको बताए । नेपालमा विदेश लगानी भित्र्याउन नयाँ नीतिले महत्वपूर्ण भूमिका खेल्ने पनि मन्त्री बस्नेतले जानकारी दिए ।
साक्षात्कारमा बस्नेतले उद्योग, कलकारखानाहरुको विकास गर्नको लागि आफूले ऐन, नियम परिमाजर्नसहितको विद्येयक पठाईसकेको बताउँदै बहुआयामिक लाभ लिन पनि नयाँ नयाँ तथा पुराना उद्योग सञ्चालन गर्नुपर्ने बताए । बस्नेतले भने–‘ हामीले उद्योग तथा कलकारखानालाई व्यवस्थित् गर्नका लागि नयाँ नीति बनाएका छौं, यसबाट सबैजनालाई लाभ हुने विश्वास लिएका छौं ।’’
अहिलेसम्म उद्योग क्षेत्रको उपेक्षा भएको भन्दै यस क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नका लागि पनि बृहत्त जनमतको सिर्जना गर्नुपर्ने धारणा राखेका हुन् । उद्योग क्षेत्रलाई प्राथमिकता दिनका लागि व्यापक जनमतको सिर्जना गर्नुपर्ने बताएका छन् ।
यसैवीच मन्त्री बस्नेतले भैरहवामा तयार भएको सेज परियोजना आगामी मंसिर २ गते उद्घाटन गर्ने बताएका छन् । भैरहवामा केही महिना अघि ५२ विघा जमिनमा ५४ करोड लागतमा निर्माण सम्पन्न भएको सेजमा सहभागीता जनाउन उद्योगी व्यापारीहरुलाई आह्वान गर्दै २ गतेदेखि खुल्ला हुने समेत बताएका हुन् ।
बस्नेतले औद्योगिक जनशक्ती निर्माण गर्ने अभियान अन्तर्गत आफूले छिट्टै औद्योगिक सूचना केन्द्रको समेत निर्माण गर्ने जानकारी दिए । जापान सरकारको सहयोगमा खानी विभाग, गुणस्तर तथा नापतौल विभागलाई देशको पाँच वटै क्षेत्रमा पु¥याउने मन्त्री बस्नेतले बताए ।
उनले अर्थमन्त्रालयले राजश्व संकलनको मात्रै लक्ष्य लिएको प्रति गुनासो पोख्दै उद्योगहरुको विकास नभएसम्म देश समृद्धिको यात्रामा अघि बढ्न नसक्ने ठोकुवा गरे । उनले भने– ‘‘सरकारले राजश्व मात्रै संकलन गरेर हुँदैन, जनताको आधारभूत आवश्यकत्ता पुरा गर्ने उद्योगहरु स्थापना गरेर सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ । ’’
मन्त्री बस्नेतले मुलुकको औद्योगिकरणमा अर्थमन्त्रालयले असहयोग गरेको आरोप लगाए । वैदेशिक लगानी नेपालमा भित्र्याउने सम्बन्धी नयाँ वैदेशिक लगानी नीति अर्थमन्त्रालयले अड्काएर राखेको खुलासा गर्दै मुलुकको औद्योगिकरणमा असहयोग गरेको आरोप लगाएका हुन् । यसअघि बन्द रहेका उद्योग सञ्चालन गर्ने सम्बन्धमा पनि उद्योग मन्त्रालय र अर्थमन्त्रालयवीच विवाद जारी छ ।
मन्त्री बस्नेतले छिट्टै नै दक्षिण एशियाली हस्तकला महोत्सव र मेड ईन नेपाल फेस्टिवलको समेत आयोजना गर्ने जानकारी दिए । त्यस्तै आगामी उद्योग दिवसको अवसरमा ईण्डष्ट्रिलिष्ट ईम्पोटेन्ट पर्सन (आई.आई.पि.) सम्मान प्रदान गरिने बताए । उनका अनुसार आई.आई.पि. सबैभन्दा बढी रोजगार सिर्जना गर्ने, सबैभन्दा धेरै कर तिर्ने र सबैभन्दा धेरै निर्यात गर्ने व्यापारीक संस्थाका प्रतिनिधिलाई सम्मान गरिनेछ ।
कार्यक्रममा मन्त्री बस्नेतले वर्तमान राजनीतिको चर्चा गर्दै दलहरुवीच विवादित विषयमा अधिकतम सहमति खोजिनुपर्ने धारणा राखे । बस्नेतले अधिकतम प्रयास पश्चात् पनि सहमति नभए प्रक्रियामा गएर भएपनि निर्धारित मितिमा संविधान जारी गर्नुपर्नेमा जोड दिए ।