बेलायतले किन दिएन खुस्बु ओलीलाई भिसा ?

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ९:४८ मा प्रकाशित

khushbuकाठमाण्डु, २७ कात्तिक– प्रेमी गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को प्रहरी इन्काण्टरमा मृत्यु भएपछि एकाएक चर्चामा आएकी पूर्वमोडल खुश्वु ओलीलाई बेलायतले भिसाको म्याद थप गर्न अस्वीकार गरेको छ ।

चरीको नियोजित हत्या गरेको भन्दै प्रहरीविरुद्ध सञ्चार माध्यममा उत्तेजक अभिव्यक्ति दिँदै आएकी खुश्बु केही समयदेखि बेलायत छिन् । चरीको आडमा अकुत सम्पत्ति जम्मा गरेको भन्दै प्रहरीले आफूमाथि छानबिन थालेपछि खुश्बु पर्यटक भिसामा सुटुक्क बेलायत पुगेकी थिइन् ।

स्रोतका अनुसार तीन महिने म्याद सकिएपछि बेलायतले उनलाई भिसाको म्याद थप्न अस्वीकार गरेको छ । पर्यटक भिसामा बेलायत पुगेकी खुश्बुले विद्यार्थी भिसामा परिणत गर्न कोसिस गरेकी थिइन् ।  त्यसका लागि गरिएका विभिन्न प्रयास विफल भएपछि उनी अहिले लुकेर बसेकी छन् ।

उनको भिसा अवधि ६ नोभेम्बरमा सकिएको थियो । नेपालमा आफूविरुद्ध अनुसन्धान जारी रहेकाले उनी तत्काल नेपाल आउने सोचमा नरहेको पारिवारिक श्रोतले जनायो ।

खुश्बु अहिले साउथ इष्ट लण्डनको ग्रीनीचस्थित केमसिङ रोडमा आफन्तको घरमा बस्दै आएको सूचना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ ले पाएको छ ।

प्रहरीले चरीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको भोगचलन खुश्वुले नै गरेको सुइँको पाएपछि उनीविरुद्ध अनुसन्धान अघि बढाएको छ ।  स्रोतका अनुसार खुस्बुसँग चरीको ५ करोडभन्दा बढी अवैध रकम छ । चरीले अवैध रुपमा आर्जन गरेको उक्त रकम खुश्बुले विभिन्न व्यवसायमा लगानी गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us