रोल्पा भ्रमण छोट्याएर किन बीचैमा राजधानी फर्कंदै छन् प्रचण्ड ?

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १:५१ मा प्रकाशित

prachandaकाठमाण्डु, २७ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा भ्रमण छोट्याएर आज राजधानी फर्कने भएका छन् ।

प्रधामन्त्री सुशील कोइराला र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ लगायतले टेलिफोन गरी छिटो राजधानी फर्कन आग्रह गरेपछि प्रचण्ड पूर्वनिर्धारित समयभन्दा अगावै काठमाण्डु आउन लागेका हुन् । प्रचण्डका सहयोगी शिव खकुरेलले अध्यक्ष प्रचण्ड आजै फर्कन लागेको जानकारी दिए ।

यसअघि प्रचण्डले आफू ३० कात्तिकमा मात्र राजधानी फर्कने बताएका थिए । प्रचण्ड रोल्पामा माडीचौरबाट लिवाङ हुँदै सडक मार्गबाट काठमाण्डु आउने कार्यक्रम छ ।

प्रधानमन्त्री कोइरालाले बुधबार राति टेलिफोन गरी प्रचण्डले काठमाण्डु छाड्दा राजनीतिक समस्या थप जटिल भएको भन्दै छिटो फर्कन आग्रह गरेका थिए । ‘तपाईं नहुँदा राजनीतिक संकट समाधान थप जटिल भयो’, कोइरालाको भनाइ उद्धृत गर्दै खड्काले भने, ‘छिटो काठमाण्डु आउनुपर्‍यो ।’ उनका अनुसार प्रचण्ड काठमाण्डु फर्केपछि संविधानका विवादित विषयमा छलफल हुनेछ ।
जनतासँग राय सुझाव लिन भन्दै प्रचण्ड केही दिनअघि महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन, स्थायी समिति सदस्य नन्दकिशोर पुन र पूर्वलडाकु कामाण्डर धनबहादुर मास्कीसहित रोल्पा पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us