विप्लवकै नेताबाट विप्लवमाथि ७ आरोप

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– पार्टीको संस्थापनविरुद्ध नयाँ भेला गर्दै गरेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्वल’लाई उनकै पक्षका केन्द्रीय सदस्यले ७ वटा आरोप लगाएका छन् । बुधबार आफ्नो ब्लगमा एक लेख लेखी माओवादी केन्द्रीय सदस्य तथा साहित्यकार डा. ऋषिराज बरालले विप्लवलाई ‘भारतीय विस्तारवादप्रति नरम’ भएको आरोप समेत लगाएका हुन् ।

Baral-NP
बरालले विप्लवको दस्तावेजमा ‘नेपाली समाजको विश्लेषण’, ‘अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी बुझाइमा त्रुटी’, ‘इतिहासको मूल्याङ््कनमा अस्पष्टता’ भएको लेखेका छन् । त्यस्तै ‘प्रधान र गौणको अन्तरमा अन्यौल’ रहेको र ‘मध्यमवर्गप्रति जोड’ दिएको पनि आरोप लगाएका छन् । दस्तावेजमा ‘भारतीय विस्तारवादप्रति नरमपन’ रहेको र ‘एकीकृत क्रान्तिको सिद्धान्तको अस्पष्टता’ भएको पनि उल्लेख गरेका छन् ।

‘मान्य छैन विप्वलवाद’ शीर्षकको लेखमा उनले विप्लवले दस्तावेज नसच्याए अर्को दस्तावेज आउने चेतावनी पनि दिएका छन् । माओवादीको विवाद सतहमा आइरहेकै बेला विप्वल पक्षधर मानिने केन्द्रीय सदस्य बरालले पार्टीभित्र अंशवण्डा भइसकेको पनि दाबी गरेका छन् । उनले पार्टी एउटै भए पनि व्यवहारमा अलग भइसकेको र पार्टीलाई भताभुंग पार्ने काम अध्यक्ष र महासचिवबाटै भएको आरोप समेत लगाएका छन् ।

‘किरण कमरेडको व्यवहारमा मध्यपन्थी अवसरवादको गन्ध आउँछ र दस्तावेजले दक्षिणपन्थी विसर्जनवादको पक्षपोषण गर्छ । तीतो भए पनि सत्य यही हो,’ बरालले लेखेका छन् । उनले अध्यक्ष किरणमा ‘परजीवी प्रवृत्ति’, ‘बाउन्ने व्यक्तित्व’ भएको समेत टिप्पणी गरेका छन् ।

पार्टीभित्र हेर्दा दुई गुट भए पनि त्यहाँ पनि थुप्रै थुम्काथुम्कीहरु रहेको बरालले स्वीकारेका छन् । उनले महासचिव रामबहादुर थापा वरिपरि खाओवादी गुट र किरणको वरिपरी ‘काम नगर्ने, गनगन मात्रै गरिरहने’ गुट भएको भन्दै आलोचना गरेका छन् ।

बादलजस्तो अवसरवादीलाई च्यापेका कारण किरणले नयाँ र बौद्धिक–सांस्कृतिक क्षेत्रको विश्वास र श्रद्धा गुमाएको बरालको लेखमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us