अख्तियारले प्रमाणपत्र मागेपछि कर्मचारीको भागाभाग

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते १३:०६ मा प्रकाशित

पथरी, २६ कात्तिक – बढुवाका लागि शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन नसकेपछि जिल्ला वन कार्यालय मोरङका चार कर्मचारीले राजीनामा दिएका छन् । अरु एक दर्जन वन रक्षकले राजीनामा दिने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयका कर्मचारीमाथि छानबिन गर्ने डरले आज राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सशस्त्र वनरक्षक शङ्करबहादुर शाह, टीका आचार्य, भवानी शङ्कर दाहाल र वकिल बराल छन् ।

उता जिल्ला वन कार्यालयका सहायक प्रमुख गणेश चौधरीले बढुवाका लागि शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन नसकेपछि कर्मचारीले राजीनामा दिएको बताए ।

चौधरीका अनुसार बढुवाका लागि शैक्षिक योग्यता प्रमाणपत्र पेस अनुरोध गरेबमोजिम प्रमाणपत्र पेस गर्न नसकेपछि राजीनामा दिएको जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us