काठमाण्डु, २६ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयभित्र सर्वमान्य लोकतान्त्रिक संविधान बन्ने बताएका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठान र अखिल नेपाल महिला सङ्घले बुधबार राजधानीमा संयुक्तरुपमा आयोजना गरेको ‘नेपाली महिला तथा वाम प्रजातान्त्रिक आन्दोलनकी अग्रणी नेत्री सहाना प्रधानको श्रद्धाञ्जलि सभामा उनले राष्ट्रिय एकता, पछाडि परेका सबै वर्गलाई सम्बोधन गर्ने खालको संविधान जारी हुने स्पष्ट पारे ।
अध्यक्ष ओलीले भने, ‘व्यक्तिगत स्वार्थमा लागेर संविधान बन्न नदिने केही तत्व छन्, जस्तो परिस्थिति सिर्जना भए पनि निर्धारित समयमै संविधान बन्छ, जारी गर्नुपर्छ ।’
उनले नेपाली जनताले चाहेको संविधान जारी गर्न सकिए मात्र नेत्री प्रधानप्रति सच्चा श्रद्धाञ्जलि हुने भन्दै देशको भाग्य र भविष्यको रेखा कोर्ने संविधान जारी हुन नदिने षड्यन्त्र कसैले पनि गर्न नहुने बताए ।
अध्यक्ष ओलीले नेत्री प्रधानको योगदान अतुलनीय रहेको र खासगरी महिला शिक्षा, सशक्तीकरण, जागरण, चेतनालगायतमा र समग्र वाम आन्दोलनकै नेतृत्व गर्ने प्रतिभा भएको बताए ।
नेता माधवकुमार नेपालले नेत्री प्रधानले नेपाली जनताको हितमा समर्पित भएर पछाडि परेका समुदायको मुक्तिका लागि अग्रपङ्क्तिमा रहेका काम गरेको बताए ।
उनले २००४ सालको महिला आन्दोलन, २०४६ सालको वाममोर्चाका अध्यक्ष भएर विभिन्न चरणका आन्दोलनलाई सफल पार्न र नेपाली महिलाको चेतना र जागरणलाई बढाउन महत्वपूर्ण योगदान पु¥याउन सफल भएको स्मरण गरे ।
उपाध्यक्ष विद्यादेवी भण्डारीले सिङ्गो महिला तथा वाम–प्रजातान्त्रिक आन्दोलनकी अग्रणी नेत्री प्रधानको प्रेरणा र हौसल्ला लिएर महिला सशक्तीकरणको काम अघि बढाउनुपर्नेमा जोड दिए । नेत्री प्रधानको गत असोज ७ गते निधन भएको थियो ।