निर्धारित मितिमा नै संविधान जारी हुन्छ : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते ९:५७ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित मितिमा नै संविधान जारी हुने कुरामा आशङ्का नगर्न आग्रह गरेका छन् ।

pm-fnjनेपाल पत्रकार महासङ्घले पत्रकारको पेसागत तथा भौतिक सुरक्षा, समग्र पत्रकारिताको व्यावसायिक विकास एवम् संविधान निर्माणको तीन महिने विशेष अभियानका क्रममा प्रधानमन्त्री निवास बालुवाटार पुगेको महासङ्घको टोलीमार्फत ध्यानाकर्षण पत्र बुझ्दै उनले त्यसका लागि सबै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताए ।

आफूहरु सहमति, सहकार्य र एकताबाटै अघि बढ्न चाहेको र त्यसमा पत्रकार महासङ्घलगायत समग्र प्रेस जगतको सकारात्मक भूमिकाको अपेक्षा गरेको उनले बताए ।

महासङ्घ अध्यक्ष डा महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पत्रकारिताको पेसागत मुद्दाको सन्दर्भमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, दक्षता अभिवृद्धिको लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, बिमा सुविधा, द्वन्द्वपीडित पत्रकार कल्याण कोषको स्थापनालगायतका विषयको विस्तृत अवधारणासहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।

महासङ्घले शान्ति प्रक्रियाको पूर्णता र परिवर्तनका एजेन्डालाई संस्थागत गर्ने प्रमुख दस्तावेज संविधान निर्माण कार्य तोकिएको समयसीमा माघ ८ गतेभित्रै सम्पन्न गर्न पनि प्रधानमन्त्री र उहाँमार्फत सरकार, संविधानसभा र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी गराए ।

उनका अनुसार पछिल्ला दिनमा दलहरुबीच बढ्दै गएको असहमति र धु्रवीकरणले दलहरु कतै आफैंले वाचा गरेको समयसीमा २०७१ माघ ८ भित्र संविधान दिन फेरि पनि असफल हुने त हैनन् भन्ने गम्भीर आशङ्का उत्पन्न भएको भन्दै महासङ्घ लोकतान्त्रिक आन्दोलन र सङ्घर्षका उपलब्धि स्वरुप प्राप्त भएका लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशीताजस्ता महत्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गर्न आग्रह गरिएको हो ।

महासङ्घ अहिले ‘नेपाली जनतासँग गरेको वाचा नतोडौँ, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौँ’ भन्ने मूल आह्वानसहित तीन महिने विशेष अभियानमा छ – बिष्टले भने ।
महासङ्घको प्रतिनिधिमण्डलमा अध्यक्ष विष्टका अतिरिक्त निवर्तमान अध्यक्ष शिव गाउँले, सल्लाहकार पोषण केसी, उपाध्यक्ष खिलबहादुर भण्डारी र अनिता विन्दु, सचिव धर्मेन्द्र कर्ण, धु्रुव लम्साल, कोषाध्यक्ष सूर्यमणि गौतम एवम् केन्द्रीय सदस्य र लेखा समिति सदस्यहरुको सहभागिता थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us