विनोद चौधरीका छोराले तिरे पारपाचुकेबापत १६ करोड

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– नेपालका बहुचर्चित व्यवसायी विनोद चौधरीका छोरा निर्वाण चौधरीले पारपाचुके बापत १६ करोड रुपैंया (भारतीय १० करोड) रुपैयाँ तिरेका छन् । स्टिल उद्योगका टाइकुन मानिने लक्ष्मी मित्तलकी भतिजी स्वस्ती मित्तललाई उनले ‘डिभोर्स’ दिएका हुन् ।

Nirvanaबेंगलोरको पारिवारिक अदालतमा यी दुई व्यापारिक घरानाका छोराछोरीको सम्बन्ध विच्छेद भएको थियो । विवाहका बेलामा स्वस्तीको परिवारले चौधरी परिवारलाई दिएको १० करोड भारतीय रुपैयाँ बराबरको ५७ प्रकारका गरगहना पनि चौधरीले फिर्ता गरेका छन् ।

अदालती निणर्य हुनुअघि नै यी दुई परिवारबीच पारपाचुकेको समझदारी भएको थियो । चौधरी परिवारले फिर्ता गर्नुपर्ने रकमबारे पनि अदालत जानुअघि नै सहमति भएको बताइएको छ ।

आपसी समझदारी भएकै कारणले यति मोटो रकम तिराउन सम्भव भएको पारिवारिक अदालतका वकिलले बताए । वकिलका अनुसार परिवार जति नै धनी भए पनि सजिलै यति धेरै पैसा तिराउन कठिन हुने गर्छ ।

रकम किस्ताबन्दीमा तिरिने बताइएको छ । ८ करोड भारु यसअघि नै तिरिसकिएको छ भने बाँकी रकम आउँदो सन् २०१७ को जनवरी ३१ सम्म तिर्नेगरी सहमति भएको छ ।

स्वस्ती र निर्वाणले गोवामा सन् २००७ मा विवाह गरेका हुन् भने विवाहपछि उनीहरु काठमाडौंमा रहँदै आएका थिएा । यो जोडी विवाहाको चार वर्षपछि नै छुट्टिएका थिए । सन् २०११ देखि स्वस्ती आफ्नै बाउआमासँग सदाशिवनगरमा बस्दै आएकी थिइन् ।

उनीहरुका कुनै सन्तान छैनन् । उनीहरुबीच कुन कारणले वैवाहिक जीवन असफल भयो भन्ने चाहिं खुलाइएको छैन । अदालतले भने ‘आपसी असमझदारी’का कारण पारपाचुकेको आदेश दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us