नुवाकोट, २६ कात्तिक – आर्थिक अनियमितता भएको उजुरी पछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाको एक सरकारी कार्यालय र सामुदायिक संस्थाका कागजात नियन्त्रणमा लिएको छ ।
कार्यालय तथा संस्थामा आर्थिक अनियमितता भएको तथा विभिन्न चलखेल भएको भन्दै नुवाकोट प्रशासनले पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, साततले दरबार सङ्ग्रहालय र जालपा क्षेत्र विकास समिति देवीघाटका कागजात नियन्त्रणमा लिएको हो ।
कार्यालय र संस्था दुवैका प्रशासनिक कागजात नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रशासनले जनाएको छ । कागजात नियन्त्रणमा लिएर लेखापरीक्षण प्रतिवेदनको मूल्याङ्कनबाट अनुसन्धान सुरु गरिएको प्रशासनले जनाएको छ ।
दरबार हेरचाह कार्यालयमा सम्पन्न आर्थिक वर्षमा दुई लाख मात्र बजेट आएको देखिएको र त्यो बजेटको पारदर्शीता नभएको गुनासो परेपछि आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रशासनले जनाएको छ ।
यस्तै, जालपा क्षेत्र विकास समितिले सरकारी कोषबाट विभिन्न समयमा लिएको रकम, भान्साघर निर्माण, बाटो विस्तारलगायतका काममा अपारदर्शीता भएको भन्दै परेका उजुरीको आधारमा प्रशासनले अनुसन्धान सुरु गरेको हो । रासस