काठमाण्डु, २६ कात्तिक– युद्धकालीन आधार क्षेत्र मानिने रोल्पा पुगेका एकीकृत नेकपा (माओवादी) अध्यक्ष प्रचण्डले राजनीतिक सहमति विथोल्न कांग्रेस उपसभापति रामचन्द्र पौडेल सक्रिय भएको आरोप लगाएका छन् । हिन्दू राज्य स्थापनाका लागि खुमबहादुर खड्कालाई उक्साउने काम पनि पौडेलले नै गरेको प्रचण्डको दाबी छ ।
बुधबार बिहान राङ्सीमा भएको पत्रकार भेटघाटमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले यतिखेर केपी ओली र सुशील कोइरालाभन्दा पनि रामचन्द्र पौडेलले खलनायकको भूमिका खेलेको बताए । रामचन्द्र बाहिर नदेखिने गरी भित्रभित्र सहमति भाँड्न सक्रिय रहेको प्रचण्डले बताए ।
राष्ट्रिय राजनीतिका अपराधीहरुसँग जुध्न उर्जा लिने उद्देश्यले आफू रोल्पा आएको बताउने प्रचण्डले दुई दिनदेखि आफूलाई त्यस्तो उर्जा मिलेको समेत दाबी गरे । ‘म अपराधीहरुसँग जुध्न शक्ति प्राप्त गर्न आएको हुँ, त्यो शक्ति प्राप्त भइरहेको छ,’ प्रचण्डले भने ।
सहमति भाँड्न खोज्नेहरुलाई जनताले छुट नदिने भन्दै प्रचण्डले आवश्यक परे अर्को शान्तिपूर्ण आन्दोलन हुन सक्ने चेतावनी दिए ।
प्रचण्ड सोमबार रोल्पा पुगेका हुन् । उनीसँग एमाओवादी महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन, पूर्व माओवादी लडाकु कमाण्डर नन्दकिशोर पुन, प्रचण्ड पत्नी सीता पौडेल पनि साथै छन् ।