क्रिकेटमा चम्केका नेपाली ताराहरु

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ३:०१ मा प्रकाशित

U-16-cricket1काठमाण्डु, १५ कात्तिक–पछिल्लो केही वर्ष नेपालले सिनियर क्रिकेटमा अन्तर्राष्ट्रिय सफलता हात पारिरहँदा यसको निरन्तरतामा प्रश्न उठेको थियो ।
एक दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका खेलाडीको प्रभाव टोलीमा रहेका कारण यो पुस्तापछि सक्षम उत्तराधिकारी आउनेमा शंका थियो । जुनियर र युवा खेलाडीको प्रदर्शन भरपर्दो थिएन ।

एकदिवसीय मान्यता पाउने र एकदिवसीय विश्वकप खेल्ने लक्ष्य बनाएको नेपालका लागि यो राम्रो लक्षण थिएन । नेपालले बिहीबार वल्र्ड क्रिकेट लिग डिभिजन तीनको उपाधि जित्दा युवा खेलाडीकै प्रेरणा रह्यो । फाइनलमा दुई युवा खेलाडी नरेश बुढाऐर र सागर पुनले अर्धशतक बनाए । अर्का जुनियर खेलाडी स्पिनर भुवन कार्कीले चार विकेट लिए । ब्याटिङमा होस् या बलिङमा, युवा खेलाडीले राम्रो खेले । टोलीलाई आवश्यक परेको समयमा समालिएर खेल्दै आत्मविश्वास देखाए ।
प्रतियोगितामा पहिलो खेलदेखि नै कुनै न कुनै जुनियर खेलाडीले राम्रो प्रदर्शन गरे । टोलीका अन्य जुनियर खेलाडी सुवास खकुरेल, सागर पुन र सोमपाल कामीले पनि गतिलो खेले । सागरले बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गरे ।
‘हामीले धेरै क्रिकेट खेल्नु छ, अझ माथि जानु छ । त्यसैले जुनियर खेलाडी जम्नुपर्ने समय थियो । भविष्य हामी भएकाले जिम्मेवारीपूर्वक खेल्नेमा गम्भीर थियौं’, दुई वर्षअघि सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका भुवनले भने । अन्तिम दुई खेलमा अवसर पाएका भुवनले सात विकेट लिएका थिए ।
सन् २००९ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका नरेश यसअघि खासै जमेका थिएनन् । यसपटक उनले ओपनिङ ब्याट्सम्यानका रूपमा सात खेलमा दुई अर्धशतकसहित एक सय ९८ रन जोडे । नरेश आवश्यक समयमा जुनियर खेलाडी जमेको बताउँछन् । ‘विश्वकपको विश्वस्तरको छनोटमा राम्रो खेल्न नसकेपछि डिभिजन तीनमा घटुवा भयौं । यसले खेलाडीमा निराशा पनि छायो । डिभिजन तीनमा राम्रो प्रदर्शन नगर्दा हामी चार वर्ष क्रिकेटमा पछाडि पथ्र्यौं । विषेष गरी हामीजस्ता युवा खेलाडीलाई त्यसको डर सबैभन्दा बढी थियो’, नरेश भन्छन् ।
सन् २०११ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका ओपनिङ ब्याट्सम्यान सुवास जुनियर खेलाडीले ब्याटिङमा देखाएको सुधार प्रशंसायोग्य भएको बताउँछन् । ‘यसपालि सिनियर खेलाडीमा ज्ञानेन्द्रबाहेक अरू जम्न सक्नुभएको थिएन । यस्तो स्थितिमा जुनियर खेलाडीको काँधमा ठूलो जिम्मेवारी थियो’, उनी भन्छन् ।
सुवासले ६ खेलमा एक सय १२ रन जोडे । उनले टोलीमा रहेका सिनियर खेलाडीलाई समेत प्रदर्शन सुधार गर्न चुनौती बढेको बताए । सिनियर टोलीमा गत वर्ष डेब्यु गरेयता लगातार राम्रो खेलिरहेका अलराउन्डर सागर जुनियर खेलाडीले आत्मविश्वास देखाएको बताउँछन् ।
‘सिनियर खेलाडीसामु आत्मविश्वासपूर्वक खेलेर सफलताको हिस्सा बन्यौं’, सात खेलमा तीनवटा पालि खेल्दै एक सय सात रन जोडेका सागर भन्छन् । उनले बलिङतर्फ सात खेलमा ६ वटा पालि खेल्दै आठ विकेट लिए । गत वर्ष सिनियर टोलीमा डेब्यु गरेका फास्ट बलर सोमपालले आफ्नो लय कायम राख्दै सात खेलमा ११ विकेट लिए ।
प्रतियोगितामा सिनियर र जुनियरबीचको तालमेल राम्रो रह्यो । ब्याटिङतर्फ ज्ञानेन्द्र मल्ल र बलिङतर्फ वसन्त रेग्मी, शक्ति गौचन र पारस खड्काले प्रेरणादायी प्रदर्शन गरे । ‘सिनियर दाइले नर्भस् नभई खेल भन्नुहुन्थ्यो। आवश्यक समयमा सिकाउनुहुन्थ्यो’, भुवन भन्छन् ।
नेपाली टोलीका कप्तान पारस खड्का युवा खेलाडीमा परिपक्वता आएको बताउँछन् । ‘टिममा रहेका जुनियर र युवा खेलाडीमा परिपक्वता र आत्मविश्वास बढेको देखिएको छ’, उनले भने । अनुभवी स्पिनर वसन्त रेग्मी लामो समयदेखि सिनियरसँग भएकाले जुनियर खेलाडीले राम्रो प्रदर्शन गरेको बताउँछन् ।
‘राष्ट्रिय टोलीमा प्रवेश गरेपछि कसैलाई पनि सिनियर र जुनियर भनेर भेदभाव हुँदैन । तर जुनियर खेलाडीले सिनियरबाट सिक्ने प्रशस्तै ठाउँ पाउँछन् । लामो समय सँगै रहेकाले राम्रो गरेको हुनुपर्छ’, वसन्तले भने ।
उनले जुनियर खेलाडीको प्रदर्शनले सिनियरको हौसला बढेको बताए। ‘भुवनले केही वर्षअघि नै टिममा ठाउँ पाए पनि अवसर पाएको थिएन । उसले अवसर पाउनैबित्तिकै समयमा आफूलाई पुष्टि गर्यो’, वसन्त भन्छन् । अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us