मुस्लिम समुदायको मोहर्रम मनाइँदै

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ६:१४ मा प्रकाशित

नेपालगन्ज, १४ कात्तिक – मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व मोहर्रमूल हराम (मोहर्रम) धुमधामका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव रहिस अहमद सिद्धिकीका अनुसार, आज राति स्थानीय पूmलटेक्रा, बुलबुलिया, टाँगा बिसौनी र धम्बोजीबाट यादगारे हुसैनको सम्झनामा ढोल मिलानको आयोजना गरिएको छ ।

प्रकाशित कार्यक्रमअनुसार, यादगारे हुसैनपछि मेंहदी मिलान गर्ने कार्यक्रम गरिएको छ । मेंहदी मिलान कार्यक्रमको समाप्तिपछि कर्बलामा गएर फातिया र दुआ (पूजा प्रार्थना) गरिने छ ।

यसैगरी, कात्तिक १५ गते यादगारे हुसैनको सम्झनामा मातम गर्दै आलम मिलान गर्ने, १६ गते चक्कुरहित जञ्जिरबाट मिलान, आगोमा हाम फाल्दै मातम गर्दै आलम मिलान र तलवार मिलान गर्ने कार्यक्रम रहेको छ ।

महासचिव सिद्धिकीका अनुसार, कात्तिक १७ गते बाँके जिल्लामा मुस्लिम, हिन्दू तथा थारु जातिसमेतले यादगारे हुसैन मनाउँदै आ–आफ्नो घर अगाडि ताजिया राखेर रातभरि जागरण बसेर ताजियादारी गर्ने कार्यक्रम रहेको छ ।

मोहर्रमको अन्तिम घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिने जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us